
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अाज (मंगलबार, साउन १) देखि सेयर खरिद-बिक्री अादेशका लागि अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु गरेको छ ।
विद्यमान कारोबार प्रणाली र अनलाइनलाई समानान्तर रुपमा सञ्चालन गर्नेगरी नेप्सेले अाजबाट परीक्षण काराेबार थालेकाे हाे । औपचारिक रुपमा पूर्ण स्वचालित अनलार्इन काराेबार प्रणालू लागू गर्नुअघिको पूर्व तयारीका रूपमा अाजबाट परीक्षण काराेबार थालिएकाे नेप्सेले जनाएकाे छ ।
अागामी दशैँसम्म पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउने नेप्सेकाे तयारी छ ।
कसरी लिने सेवा ?
लगानीकर्ताले हाल प्रयोगमा रहेको कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम प्रणालीमा नै ब्रोकरले प्रविष्ट गरेको आदेश र यसमा म्याचिङ भएको आफ्नो कारोबार मात्र हेर्न सक्ने नेप्सेकाे भनाइ छ । यसका लागि लगानीकर्ताले आफ्नो ब्रोकरबाट युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ ।
युजर नेम र पासवर्डका लागि लगानीकर्ताले ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गराउनुपर्छ । केवाइसी अद्यावधिक गराउँदा इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नेप्सेले जनाएको छ ।
तर पूर्ण स्वचालित अनलाइन कारोबारका लागि भने युजर एसेप्टेन्स टेस्ट (यूएटी) गर्नुपर्ने हुन्छ । सबै तयारी पूरा भइसकेपछि हालको कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम विस्थापित हुनेछ भने पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमार्फत शेयरकाे खरिद-बिक्री अादेश दिन सकिनेछ ।