काठमाडौँ — सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेसँगै बजारमा मूल्य वृद्धि भएको छ । ढुवानी सेवा क्षेत्रमा पर्ने जनाउँदै अर्थ मन्त्रालयले बजेटबाट भ्याट लगाउने निर्णय गरेको थियो । व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका हुन् ।
खुद्रा व्यापार संघका अनुसार बजेटअघि प्रतिकिलो १४० रुपैयाँ पर्ने मुङको दाल अहिले बढेर १८० पुगेको छ । मुङ खोस्टा १२० रुपैयाँबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । ११० रुपैयाँ पर्ने मुसुरो १३० रुपैयाँमा कारोबार भएको छ । १३५ रुपैयाँ पर्ने रहर १५० रुपैयाँ, ११० रुपैयाँ पर्ने मास १३० रुपैयाँ पुगेको छ । चिनी प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य पनि बढेको छ ।
१३० रुपैयाँ पर्ने सोयाबिन तेल (लि) १४० रुपैयाँ, १३५ रुपैयाँ पर्ने सनफ्लावर तेल (लि) बढेर १५० रुपैयाँ र चामल प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको जनाइएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजेट सार्वजनिक हुनुअगावै मूल्य वृद्धि भएको बताए । ‘बजेटको एक साताअघि नै बजार बढेको थियो । खाद्य वस्तुको मूल्य एक किलोमै ४० रुपैयाँसम्म बढेको छ,’ उनले भने, ‘उद्योगी, आयातकर्ता र होलसेलरले मूल्य बढाएपछि खुद्रामा पनि सोही अनुपातमा बढ्नु स्वाभाविक हो ।’ श्रेष्ठका अनुसार केही आयातकर्ताले सामानहरू भारतबाटै बढेर आएको बहाना बनाएका छन् । त्यही भएर मूल्य बढेको जनाइएको छ । ‘आयातकर्ताले बढाएपछि त्यहीअनुसार खुद्रामा पनि बढ्यो । हल्लाले पनि केही प्रभाव परेको देखिन्छ,’ उनले भने, ‘मूल्य वृद्धि आयातकर्ता र होलसेलकै काम हो । सबै आयातकर्ताको हातमा हुन्छ । नियन्त्रण गर्न मुहानमै अनुगमन हुनुपर्छ ।
’ उनीहरूले कर नबढाइएका वस्तुको पनि भाउ बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । अन्तःशुल्क, भन्सार दर बढेका वस्तु आटा, चिप्स, चाउचाउ, जुसलगायत वस्तुमा मूल्य बढेको छ । ढुवानीमा भ्याट लागेपछि थप केही असर परेको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘ढुवानीमा भ्याट लागेपछि खाद्यान्नलगायतको मूल्य पनि स्वतः बढ्छ ।’ उनका अनुसार केही वस्तुको अन्तःशुल्क ३० प्रतिशतबाट ४० प्रतिशत पुर्याइएको छ । भन्सार दर र अन्तःशुल्कमाथि ढुवानीमा भ्याट थप हुँदा एक दुई प्रतिशतसम्म मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए । ‘त्योभन्दा बढी बढ्नु गलत हो,’ गौचनले भने ।आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले ढुवानी व्यवसाय सेवामा पर्ने हुँदा भ्याट लगाएको बताए । हेर्नुस सुची ।