काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी तेस्रोलिंगी जुनु गुरुङको निर्घात कुटपिटपछि मृत्यु भएको छ । उनलाई एक ब्यक्तिले कुटपिट गरेका थिए ।
शुक्रबार बेलुका लाजिम्पाटको एक होटलमा सामान्य विवाद हुँदा भएको झगडामा कुटपिट हुँदा घाइते भएकी जुनुको आइतबार मृत्यु भएको हो ।
कास्की लुम्लेकी जीवन गुरुङ (जुनु) लाजिम्पाटमा रहेको डेरामा मृत भेटिएकी प्रहरीले जनाएको छ ।
महानगरिय प्रहरी बृत्त दरवारमार्गको टोलीले घटनास्थलमा पुगेर मुचल्का उठाई शबलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगेको छ ।
जुनुलाई कुटपिट गरेको शंकामा बृत्तले बिदेश कार्कीलाई सोधपुछका लागि नियण्त्रणमा लिएको र अनुशन्धान भइरहेको जनाएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कार्कीको कुटाइबाट जुनुको मृत्यु भएको बताएका छन् । कार्कीले यसअघि पनि जुनुलाई कुटपिट गरेको उजुरी बृत्त दरबारमार्गमा दिएको उनीहरुले बताए ।
प्रहरीले भने उनको कुटपिटबाट हत्या भए नभएको पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने बताएको छ । जुनु नील हिरा समाजकी पूर्व कर्मचारी हुन् ।
जुनुका साथी सागर गुरुङका अनुसार शक्रबार बेलुका होटलमा खाइपिइ भइरहेको थियो । त्यसैक्रममा बिदेश कार्की र जुनुबीच भनाभन भएको थियो । केहीबेरमै जुनुलाई कार्कीले कुटपिट गरे । जुनु घाइते भइन ।
उनमाथि कुटपिट भएको उजुरी प्रहरी बृत्त दरवारमार्गमा दिएर जुनुलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । ट्रमाले आँखाको उपचार हुन नसक्ने बताएपनि जुनुलाई कोठामा ल्याइएको थियो ।
आइतबार जुनु डेरामै मृत फेला परेपछि अनुसन्धान अघि बढाइएको छ । कतिपयले उनको हत्या भएको आशंका गरेका छन् ।
लाजिम्पाट, दरबारमार्ग, ठमेललगायतका स्थानमा विभिन्न पेशा ब्यवसायमा रहेका तेस्रोलिङ्गी तथा समलिङ्गीहरुमाथि पटक पटक आक्रमण हुने गरेको छ । उनीहरुमाथि कुटपिट, दुब्र्यवहार र अपमानपूर्वक व्यवहार हुने गरेको अधिकारकर्मीहरुले बताउने गरेका छन् ।