२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

कसरी बन्छ जुजु धौ : यस्तो छ जुजु धौ बनाउने सरल तरिका (भिडियो)

6864 Shares

दही स्वादिलो पेय हो। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन र यसको आफ्नै आयुर्वेदिक महत्व पनि छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ।

स्वाद र स्वास्थ्यका लागि मात्र होइन, दही सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्मक क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ। दहीहरूको राजा हो जुजु धौ। जुजु धौ भक्तपुरको मौलिक एवं परम्परागत उत्पादन हो।

जुजु धौ नेवारी शब्द हो र नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ। दहीहरूको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्लराजाहरुले खाने हुनाले यसलाई जुजु धौ भनिएको हो। अन्य दही भन्दा स्वादिलो र स्वस्थकर भएकाले पनि यस दहीको महत्व नेपाल भरि नै प्रख्यात रहेको छ।

दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँछन्। तर जुजु धौ बनाउने विधि भने धेरैलाई थाहा नहुन सक्छ। कसरी बन्छ त जुजु धौ हेर्नुहोस् आज यो भिडियोमा..

सामग्री
२ लिटर भैंसीको दूध (गाईको भएपनि हुन्छ)
सुकुमेलको धुलो अलिकति
कुनै पनि दही २ चम्चा
चिनी ७५ ग्राम
माटोको भाडा

अब बनाउने विधि
सुरुमा ग्याँसमा एउटा बाक्लो भाडा बसाल्ने र त्यसमा दूध राख्ने। दूध तात्न सुरु भएपछि सानो डाढु, कप अथवा अरु केहीले चलाउने। दूधलाई चलाउँदै पकाउदै गर्ने। २ लिटर दूध १ लिटर नहुन्जेल अथवा बाक्लो नहुन्जेल चलाउँदै उमाल्ने।

दूध उम्लेर आधा जस्तो भएपछि त्यसमा चिनी र सुकुमेलको धुलो राखेर चलाउने र फेरी एकछिन पकाउने। चलाउँदै २-३ मिनेट पकाइसकेपछि दूध जुजु धौ बनाउनको लागि तयार हुन्छ।

अब दूधलाई माटोको भाडामा राख्ने र हल्का सेलाउन दिने या मनतातो नहुन्जेल राख्ने र पछि त्यसमा दही राखेर चलाउने। त्यसपछि त्यसलाई छोप्ने र तातो ठाउँमा राख्नुपर्छ। सकेसम्म तातो ठाउँमा ७-८ घण्टा राख्नुपर्छ ताकी राम्रोसँग दही जमोस्।

 

प्रतिक्रिया