२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

खर्च गर्न नसकेपछि अर्थमन्त्री खतिवडाद्वारा बजेट संशोधन

1843 Shares
Spread the love

काठमाडौं । सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेको स्वीकार गरेको छ।

अर्थमन्त्रालयमा मंगलबार चालू आर्थिक वर्षको ‘अर्धवार्षिक समिक्षा प्रतिवेदन’ सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च भएको उल्लेख गरिएको बताए।

प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ७५ अर्ब ८२ करोड मात्रै बजेट खर्च भएको उल्लेख गरिएको छ। जुन कूल बजेटको २८ दशमलव ६ प्रतिशत हो। सरकारले चालू आर्थिक वर्षको ६ महिनामा करिव ३५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बजेट विनियोजनका लागि आवश्यक कानून र संरचना बनाउने काममा केन्द्रित हुनु परेकाले चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार बजेट खर्च गर्न नसकिएको स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले ठूला आयोजनाहरुले भुक्तानी गर्न ढिलाई गरिदिँदा पनि बजेट खर्च कम भएको देखिएको पनि बताए। अर्थमन्त्री खतिवडाले अव कानून, कार्यविधि र निर्देशिकाहरु बनाउने काम सकिएकाले सरकारले बजेट खर्च गर्ने कामलाई प्रभावकारी ढंगले अघि बढाउने दावी पनि गरे।

यता, राजश्व संकलनमा भने सरकारले गत वर्षको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि गरेको छ। चालू आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन ४ खरव २ अरव ४५ करोड भएको हो। अर्थमन्त्री खतिवडाले राजश्व संकलनको कामलाई पनि सरकारले वृद्धि गर्दै लैजाने लक्ष्य लिएको पनि बताए।

सरकारले आर्थिक वर्षको ६ महिनामा बजेट खर्चको अवस्था निराशाजनक रहेपनि आर्थिक वर्षको अन्त्यसम्म ९१ दशमलव २ प्रतिशत बजेट खर्च हुने अनुमान समेत गरेको छ। अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धि ४ दशमलव २ प्रतिशतमा सीमित रहेको दावी गरे।

अर्थवार्षिक समिक्षा प्रतिवेदनमा रेमिटयान्समा ३० दशमलव २ प्रतिशतले वृद्धि हुन गएको उल्लेख गरिएको छ। त्यसैगरी कूल निर्यात व्यापार १० दशमलव ३ प्रतिशतले वृद्धि भएको पनि उल्लेख गरिएको छ।

प्रतिवेदनमा प्रदेश सरकारलाई वित्तीय हस्तान्तरण अन्तरगत ३७ अर्ब २९ करोड तथा स्थानीय तहलाई ८१ अर्ब ६७ करोड निकास गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया