काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालनमा ल्याएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा निरन्तर रकम जम्मा भइरहेको छ।
कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खाताहरूमा कुल मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ।
जसअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकहरूमा रहेको खातामा १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको छ।
यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका विदेशी मुद्रा (डलर) खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर संकलन भएको कार्यालयले जनाएको छ।