तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा सङ्क्रमण देखिएको छ ।
भिमाद नगरपालिकामा २३ जनामा सङ्क्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल सङ्क्रमितको करिब ३४।८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ सङ्क्रमित भेटिएका छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य सङ्क्रामक रोग हो । खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताए ।