काठमाडौँ । एनएमबी बैंक लिमिटेडले आफ्ना साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न आगामी मंसिर २५ गते साधारण सभा आयोजना गर्न लागेको हो ।
बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको ५१९औँ बैठकको निर्णयअनुसार सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे शुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा करसमेत समावेश छ ।
त्यस्तै बैंकको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरका शेयरधनीलाई पनि नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। बैंकले उक्त शेयरधनीलाई १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १८० दिनका लागि समानुपातिक हिसाबले गणना गरिएको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ। यसमा बैंकका सहायक कम्पनीहरू एनएमबी क्यापिटल, एनएमबी लघुवित्त वित्तीय संस्था र एनएमबी सेक्युरिटिजको एकीकृत वित्तीय विवरणसमेत समावेश छन्।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ। यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।