काठमाडौँ : आगामी अप्रिल १२, १३ र १४ मा काठमाडौँको भृकुटीमन्डपमा मिडिया प्रदर्शनी हुने भएको छ। आयोजक संस्था एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमरे जानकारी दिएको हो।
कार्यक्रमबारे बोल्दै परियोजना प्रमुख डम्बर शाहले मिडिया प्रदर्शनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र बिस्तारको लागि एक खुड्किलो हुने बताए ।
यस प्रदर्शनीले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम र ठुला सबै प्रकारका सरकारी, गैरसरकारी तथा निजी लगानिबाट सञ्चालित सूचना-सञ्चार प्रबिधिसम्बन्धी कम्पनीहरु एउटै छातामुनि आउने उनले विश्वास व्यक्त गरे।
नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनीमा सरकारी तथा गैरसरकारि संघ-संस्थाले सहकार्य गरेका छन्। नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक नेपाल संघ, नेपाल केबुल टेलिभिजन महासंघ, नेपाल विज्ञापन संघको पनि यसमा संलग्नता रहने आयोजकले जनाएको छ ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सिईओ क्लब लगायतका सरकारी, गैरसरकारी तथा व्यवसायिक संघ-संस्थाको सहकार्य रहेको आयोजकको भनाइ छ ।
नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले मिडिया र विज्ञापनसम्बन्धी विभिन्न कार्यक्रम सरकार गर्न नसकेको अवस्थामा निजीक्षेत्रले यस्तो प्रयास गर्नु राम्रो भएको बताए ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले यस एक्स्पोले रेडियो र टेलिभिजन क्षेत्रलाई नयाँ मोड दिने विश्वास व्यक्त गर्दै दर्शकहरुले विश्वमा हाल प्रयोग भइरहेको उच्चतम मिडिया प्रबिधिबारे जानकारी पाउने उल्लेख गरे ।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव कुमार सत्यालले यस्ता मिडिया प्रदर्शनी नेपालको अनलाइन मिडिया क्षेत्रका लागि कोसेढुङ्गा हुने विस्वास व्यक्त गरे।
आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी र संघ-संस्थाहरुले सहभागिता जनाउने अपेक्षा गरिएको । हाल सम्म ३१ वटा कम्पनीले बुकिङ गरिसकेका छन् ।