आशिष तामाङ,
सिड्नी – तामाङ सोसाइटी अफ एन एस डब्लूले हरेक बर्ष जस्तै फेब्रुवरि १६ का दिन सोनाम ल्होछार भब्यताका साथ मनाउने तयारी गरेको छ।
बिगतका बर्षहरुमा नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई निमन्त्रणा गरेर मनाउने गरेपनि यो बर्षको सोनाम ल्होछारमा भने स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि सिड्नीमा रहेका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने सस्थाका महासचिब अबिरल तामाङले जानकारी दिएका छन् ।
कार्यक्रमलाई भव्य बनाउने तयारी स्वरुप स्थानिय कलाकारहरुको रिहर्सल हरेक शनिबार र आइतबार नियमित रुपमा भैरहेको समेत महासचिव तामाङले जानकारी दिए ।
संस्थाका सचिव विशाल तामाङका अनुसार यस बर्षको कार्यक्रम तामाङहरुको परम्परा, संस्कृति र दैनिकी झल्किने विशेष प्रस्तुतिहरुले भरिपुर्ण हुने बताएका छन् । सचिव तामाङले विगतका बर्षहरु भन्दा यस बर्षको कार्यक्रम अझ परिमार्जित र परिस्कृत गरी कार्यक्रम संचालन हुने बताए ।
तामाङ सोसाइटी अफ एन एस डब्लूका अध्यक्ष सुन्दोर्जे तामाङले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउन लागिएको जानकारी दिएका छन् । प्रवासमै भएता पनि आफ्नो देश तथा तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्नुका साथै आफ्नो मातृभुमीलाई विदेशमै भएर पनि सामाजिक कार्यबाट समेत अगाडी बढाउने उदेश्य अनुरुप यस संस्था अगाडी बढेको जानकारी दिए । उनले तामाङ समुदायको संस्कार र संस्कृती नेपालकै पहिचान भएको उल्लेख गर्दै यस्ता संस्कार सांस्कृतिलाई राज्य पक्षबाटै जोगाउनुपर्ने उल्लेख गरे ।
यो बर्ष तामाङ समुदायले २८५५ औं सोनाम ल्होछार सुगुर बर्ग अन्तर्गतको नयाँ बर्ष मनाउदैछ।
कार्यक्रम भव्य र सभ्य बनाउन सबै नेपाली समुदाय उपस्थितिको लागि आयोजक संस्थाले निमन्त्रणा गरेको छ।
