काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वीटजरल्याण्डको भ्रमणमा जाने भएका छन् । स्वीटजरल्याण्डको डाभोसमा यही जनवरी २२ देखि २२ सम्म हुने अन्तर्राष्ट्रय आर्थीक मञ्च (डब्ल्यूईएफ)को वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मञ्चको बैठकमा यसअघि नेपालका अर्थमन्त्रीहरुले सहभागिता जनाउँदै आएकोमा पहिलो प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । खासमा यो वैठकमा प्रधानमन्त्रीले जानु पर्ने वाध्यता छैन । यो मञ्चमा अन्य देशबाट मन्त्रीस्तरमा मात्र सहभागिता हुँदैछ । त्यसैले प्रधानमन्त्री ओलीको यो भ्रमणले खासै उपल्बिध हुने हुने विश्लेषकहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीसँगै भ्रमणमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री यूवराज खतिवडा र अन्य उच्च सरकारी अधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मञ्चको बैठकलाई सम्बोधन गर्ने छन् । उनले मञ्चको दुई वटा शत्रमा सम्बोधन गर्ने जनाइएको छ ।
यो वर्ष मञ्चको बैठक ‘विश्वव्यापीकरण ४.०ः चौथो औद्योगिक क्रान्तिको यूगलाई एक वास्तुकलाको आधार दिने’ भन्ने थीममा हुँदैछ । प्रधानमन्त्री ओलीले यसै थीममा आधारित सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा हालसम्म कुनै साइड लाइन वार्ताको तय भने भएको छैन । अन्य मुलुकबाट प्रधानमन्त्री स्तरमा सहभागिता नहुने भएकाले पनि ओलीको साइड लाइन वार्ताको कार्यक्रम तय नभएको परराष्ट्र स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली मञ्चको बैठकपछि २६ जनवरीमा स्वेदश फर्कने कार्यक्रम रहेको छ ।