२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

महिला टि-२० क्रिकेटमा नेपाल फाइनलमा, इण्डोनेसिया पराजित

1284 Shares
Spread the love

काठमाडौं । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो ।

ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए ।

प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो ।

एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो ।

९२ रनको जित, टि–२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । विकेटको आधारमा प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो । यसअघि सीतालेनै युएईसँग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १२० रन बनाएको थियो । नेपालले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन् । यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया