माघ ३ – केपी शर्मा ओलीको सरकार बनेदेखि चर्चामा आएको एकमात्र बिषय हो पानीजहाज । प्रधानमन्त्री भईसक्दा पनि उनले नेपालमा पानीजहाज चलाउँने भन्ने बिषयलाई लिएर धेरै व्यंग्य गरिए तर सरकारले भने यस बारेमा कदम चालिसकेको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दे प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस बारेमा जानकारी दिएका हुन् । यस बिषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको बताए । उनले भने ” अलिक चर्चित विषय छ। अब नेपालमा कागजको होइन साँच्चिकै नेपाली पानीजहाज कार्यालयको खोल्ने निर्णय भएको छ।”
कार्यलयमा एकजना रजिष्ट्रार रहनेगरी उनको मातहतमा १५ कर्मचारी रहने बास्कोटाको भनाई छ । उनले भने “इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहनेगरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ । आशंका गरिएका धेरै कुरालाई यो कुराबाट प्रक्रिया अगाडि बढेको रुपमा बुझ्न चाहन्छु।” योसंगै सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरिएको छ।