२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी : संसदमा विश्वासको मत प्राप्त

518 Shares
Spread the love

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले संसदमा विश्वासको मत जित्दै आफ्नो नेतृत्वलाई सुरक्षित गरेकी छन् । बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो । मंगलबार प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताको प्रस्तावका विरुद्ध मत दिने उनकै दल कञ्जरभेटिभका सांसदहरु र डियुपीका सांसदहरु समेतले आज भने प्रधानमन्त्रीको साथ दिएका छन् ।

संसदले ब्रेक्जिट सम्झौतालाई भारी मतले अस्वीकृत गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध विपक्षी लेबर पार्टीले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । लेबरको यो प्रस्तावलाई एसएनपी, लिबरल डेमोक्रयाट् लगायतका सबै विपक्षी पार्टीहरुले सघाएका थिए ।

विश्वासको मत जितेपछि प्रधानमन्त्री मेले प्रतिक्रिया दिंदै भनिन्, ‘यो नतिजाले देखाउँछ कि सरकारमाथि सरकारको विश्वास कायम छ ।’ जनमत संग्रहमार्फत बेलायती जनताले दिएको ब्रेक्जिटको म्याण्डेट पूरा गर्ने आफ्नो संकल्पलाई तार्किक निश्कर्ष दिने प्रयासलाई जारी राख्ने उनले प्रतिबद्धता गरिन्।आउँदो साता उनले संसदसमक्ष ब्रेक्जिट सम्झौताको नयाँ प्रस्ताव पेश गर्ने अपेक्षा छ ।

त्यसअघि प्रधानमन्त्रीले सबै राजनीतिक दलका नेताहरुसँग व्यक्तिगत रुपमा भेटेर ब्रेक्जिट सम्झौताको गाँठो फुकाउने कोशिस गर्दैछिन् । बुधबार साँझदेखि नै भेटघाट थाल्ने उनले अन्य दलका नेताहरुबाट समस्या समाधानको लागि रचनात्मक सरसल्लाहको अपेक्षा गरेको बताएकी छन् ।

यसअघि मंगलबार संसदमा भएको मतदानमा उनको ब्रेक्जिट सम्झौतासम्बन्धी प्रस्ताव २ सय २ का विरुद्ध ४ सय ३२ मतको भारी अन्तरबाट अस्वीकृत भएको थियो । सम्झौता संसदबाट अस्वीकृत भएपछि मार्च २९ को लागि तोकिएको ब्रेक्जिटको प्रक्रिया थप जटिल बनेको छ ।

प्रतिक्रिया