माघ २- बिवादित छबिका तपस्वी भनिएका राम बहादुर बम्जनमाथि एक पछि अर्काे गर्दे उजुरीहरु परिरहेका छन् । बलात्कारको आरोपसंगै ४ जना आनीहरु बेपत्ता पारिएको उजुरीपछि पुन बम्जनबिरुद्ध अर्काे उजुरी पनि परेको छ । उनीविरुद्ध पाँचौं उजुरी परेको हो । छोरी रिता बमजन आश्रमबाट हराइरहेको भन्दै सर्लाहीको बागमती नगरपालिका-१२ काजीराम टोलकी सुम्नी बोटले प्रहरीमा उजुरी दिएकी हुन् । सुम्नीले एकपटक छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको जनाएकी छन् ।

उनको जाहेरीमा लेखिएको छ फोटोहरू जलाएर गएकी छोरी अहिलेसम्म आएकी छैनन्। बरु बम्जन आफैं आएर रिताबारे सोधेका थिए। बमजनकै आश्रमबाट छोरी हराएकाले खोजी पाउँ। उनी २०६६ अघि नै बमजनको हलखोरीयास्थित आश्रममा बस्न थालेकी थिइन्। उनको र बमजनको बीचमा गुरू र आनीको सम्बन्ध मात्र नभई उनीहरु दुवै जना प्रेममा पनि थिए । बमजनले आफूहरूबीचमा प्रेमसम्बन्ध रहेको पनि बताएका थिए। एक्लै आउँदा त्यसअघि आफैंले जमिनमुनि गाडेर राखेका फोटोहरू झिकेर जलाएकी थिइन्।
त्यहीबेला उनले आमासँग आफूले आश्रममा धेरै यातना पाएको बताएकी थिइन्। सुम्नीका अनुसार, रिताको शरीरमा कुनै हतियारले चिरेर र कुटेर बनेका घाउ थिए। उनले भनिन् चाररपाँच दिनपछि बमजनले नै फोन गरेर बोलायो। मैले नजा भन्दाभन्दै छोरी फर्केर आश्रम गयो।’ त्यसपछि रिताको कुनै अत्तोपत्तो छैन। रिता आश्रम गएको केही समयमा बरू बम्जन रिताबारे सोध्न आएका थिए।
रितालाई खोज्दै आएका बम्जनले उनका दाजुलाई प्रहरीमा उजुरी नगर्न भनेका थिए। उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएका थिए। बम्जनकै आश्रृमबाट अन्य आनीहरु पनि बेपत्ता भएको भन्ने सुनेपछि सुम्नीले आफनी छोरीको पनि खोजी गरिदिन भन्दै प्रहरीसमक्ष निवेदन दिएकी हुन् । यसअघि ३ आनी र एक अनुयायी बेपत्ता भएको भन्दै खोजीका लागि परिवारले प्रहरीसमक्ष उजुरी दिईसकेका छन् ।