काठमाडौँ, २ माघ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज सकिँदैछ ।
दोस्रो पटक म्याद थप गरिएको नेविसंघ कार्यसमितिलाई अब के गर्ने भन्नेमा प्रश्न उठेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले म्याद थप गर्नेरनगर्ने विषयमा आधिकारिक निर्णय दिनुपर्ने भएतापनि बैठक माघ १० गतेका लागि बैठक बोलाइएको छ । वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको समितिको वैधतामा अब प्रश्न उठ्ने देखिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १० माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताउनुभयो । नेविसंघ केन्द्रीय कार्यसमितिको दुईवर्षे कार्यकाल गत भदौमै समाप्त भएको थियो । त्यसपछि विधानअनुसार एकपटकका लागि तीन महिना म्याद थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । उक्त समयमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले विधान संशोधन गरी थप दुई महिना कार्यकाल लम्ब्याएको थियो।