माघ १ – लिटिल बुद्धको नामबाट चर्चामा आएका तपस्वी रामबहादुर बम्जनमाथि ४ चार आनीहरु बेपत्ता पारेको आरोप लागेको छ । बम्जनकै आश्रृममा अनुयायी बनेर बसेका ४ जना लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको र बेपत्ता पारिएको भन्दै परिवारले प्रहरीसमक्ष उजुरी दिए । त्यसपछि प्रहरीले यस घटनालाई लिएर सुक्ष्म अध्ययन गरिरहेको छ । सिन्धुपाल्चोकस्थित आश्रृमलाई सिल गरेर अनुसन्धान गरिरहेको प्रहरीले आश्रृममा केही शंकास्पद गतिविधीको आशंका गरेको छ । यसैबीच बिवादमा तानिएपछि बोधि श्रवण धर्म संघले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दे बम्जनमाथि लागेको आरोपहरु सबै झुठो भएको दाबी गरेको छ ।
संघका प्रवक्ता तथा पूर्व मन्त्री मणि लामाले बम्जनमाथि लागेको आरोपहरु झुठो रहेको भन्दै गुरु विरुद्ध कसैले उजुरी नदिएको दाबी गरेका छन् । बम्जनमाथि बलात्कार , हत्या र बेपत्ता पारेको भन्दै आएका समाचारहरुप्रति संघले आपत्ति जनाउँदै बम्जन निर्दाेष रहेको बताएको छ । विभिन्न जिल्लामा फैलिएको आश्राममा धेरै भक्तजन आईरहने हुनाले कोही कसैको रेकर्ड राख्ने चलन संघमा नरहेको भन्दै हराईरहेका भनिएकाहरुको पनि संघमा कुनै रेकर्ड नभएको लामाको भनाई छ ।
उता संघका अध्यक्ष निलबहादुर थिङ्गले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरुबारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर बम्जनमाथि लगाएको समेत भन्न भ्याए । गुरु अपराधी नभई संरक्षक रहेको भन्दै विभिन्न समाचारको विश्वास नगर्न आग्रह गरे । बम्जनमाथि आरोप लगाएर सामाजिक र धार्मिक सद्भाव बिथोल्नेहरुको ठुलो षडयन्त्र रहेको भन्दै सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न सरकारसमक्ष संघले माग गरेको छ । स्मरण रहोस केही समय अगाडी उनकै अनुयायी गंगामाया तामाङले बम्जनमाथि बलात्कारको आरोप लगाएकी थिईन । त्यहीबाट बम्जनबिरुद्ध एक पछि अर्काे गर्दे उजुरी परेको थियो ।