माघ १ – सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । कारोबार दैनिकमा खबर छ ।

गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनघि मर्यादाक्रम पारित गरेको थियो ।पन्थअघि अर्का सहसचिव ईश्वरराज पौडेलको कार्यदलले मर्यादाक्रमको मस्यौदा तयार पारेको थियो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी मर्यादाक्रममा पूर्व राजा नअटाएकोबारे खुल्न चाहेनन् । मन्त्रीपरिषद्ले पास गरेको विषयमा आफूले कुनै टिप्पणी नगर्ने उनले बताए ।
“गृह मन्त्रालयको प्रस्ताव अनुसार मर्यादाक्रम मन्त्रीपरिषद्बाट स्वीकृत भएको हो,” प्रवक्ता सुवेदीले भने, “यसबाहेक बाँकी कुरा मलाई नसोध्नुस् ।”राष्ट्रपतिदेखि नेपाली सेनाका सहायक सेनानीसम्म २१ तहमा निर्धारण गरिएको ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम’मा पूर्वराजालाई समेटिएको छैन । नयाँ मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो मर्यादामा राखिएको छ ।