२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मन्त्रीले सचिब कुटेको घट्नाको छानविन सुरु, मन्त्रीलाई कारवाहीको माग

1286 Shares
Spread the love

काठमाडौं । प्रदेश नम्बर–२ सरकारले सचिव विद्यानाथ झामाथि भएको कुटपिटको घटनामा छानबिन सुरु गरेको छ ।

सचिव झाले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको आरोप लगाएपछि प्रदेश सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

प्रदेश सरकारका प्रमुखसचिव दीपक सुवेदीले घटनाबारे मन्त्री यादव र सचिव झाले मुख्यमन्त्रीलाई ‘ब्रिफिङ’ गरेको र त्यसलगत्तै छानबिन समिति गठन गरिएको बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव संयोजक रहेको तीन सदस्यीय समितिलाई ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।

टोलीका सदस्यमा प्रमुखसचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुँयाल छन् ।

छानबिन समितिका सदस्य प्रमुखसचिव सुवेदीले घटनाबारे दुवैपक्ष र घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुसित बुझ्ने काम मंगलबारबाट सुरु गरेको जानकारी दिए ।

आफूले भनेअनुकूलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

कुटपिटको घटनाको विरोधमा प्रदेश २ का सबै मन्त्रालयका कर्मचारीले हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका हुन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रदेश सरकारको काम समेत ठप्प भएको छ ।

निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र अन्य संगठनहरुले सोमबार संयुक्तरुपमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका हुन् ।

कुटिएका सचिव झा भने अस्पताल भर्ना भएका छन् । गाला, नाक र घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएका सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् ।

मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भाँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाइ छ ।

प्रतिक्रिया