२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

634 Shares
Spread the love

मोरङ । नदीजन्य पदार्थ निकासीमा जबर्जस्ती चन्दा उठाउन अनुमति दिएको आरोपमा कानेपोखरी गाउँपालिका ५ का अध्यक्ष चरणसिंह गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन एमालेबाट निर्वाचित गुरुङविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी गरेको हो ।

कानेपोखरी ५ र बेलबारी ८ को बीचको चिसाङ खोलाको समीर र शान्ति टोल नाकाबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्दा स्थानीयले गत वर्षदेखि नै अवैध रूपमा चन्दा असुली गर्दै आएको थियो ।

यस वर्ष कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन ठेक्का लगाए पनि स्थानीयले विरोध जनाउँदै आएको थियो । स्थानीयले नदीजन्य पदार्थ उत्खननले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएकाले तत्काल तटबन्ध निर्माणमा बजेट विनियोजन माग गर्दै विरोध जनाएका थिए । खोलाले नम्बरी जग्गा क्षति गरे पनि स्थानीय तहले ढुंगा, गिटी, बालुवा निकासीमा मात्रै केन्द्रित भएको र तटबन्ध गर्न ध्यान नदिएको बेलबारी ८ का बद्रीनाथ ढकालले बताए ।

स्थानीयको विरोधपछि वडाध्यक्ष गुरुङको अध्यक्षतामा बसेको बैठकले तटबन्ध निर्माणका लागि वडाभित्रका प्रतिटयाक्टर र टिपर ५० रुपैयाँ र वडाबाहिरका प्रतिटिपर र ट्याक्टर सय रुपैयाँ कर उठाउनेलगायत ६ बुँदे निर्णय गरेको थियो ।

गुरुङले चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माण सहयोगार्थ पैसा असुल गर्न पत्र दिएका थिए । उक्त निर्णयका आधारमा रकम उठाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी बेलबारीले कानेपोखरी ५ का रोशन दनुवार र जितन चौधरीलाई नियन्त्रणमा लिई ५ जनाविरुद्ध पुस २४ गते जिल्ला अदालत मोरङमा जबर्जस्ती चन्दा मुद्दा चलाएको छ । उक्त मुद्दामा वडाध्यक्ष गुरुङ, कानेपोखरी ५ का टेकबहादुर मगर र लोकेन्द्र कार्कीको नाम रहेको छ ।

प्रतिक्रिया