काठमाडौ । स्वाईन फ्लुको नामले चिनिने एचवान एनवान ज्यानमारा भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामी विभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।
जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको र केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि ती अस्पतालमा उपचार रहेको बताइएको छ ।
केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरू गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
अहिले सो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही व्यक्तिको मृत्यु भएकाले सतर्कता अपनाउन थालिएको ती चिकित्सकले जानकारी दिए ।
हाल शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएका ती बिरामीको परिचय गोप्य राखिएको भएपनि उनको घरमा यस अघि स्वाईन फ्लुका बिरामी रहेको र ती बिरामीको कारण घरका अन्य सदस्यलाई समेत सरेर अस्पताल भर्ना गर्नुपरेको बताइएको छ ।
स्वाईन फ्लुको संक्रमण देखिन थालेपछि सरकारले यसलाई फैलन नदिन विशेष कार्यक्रम ल्याउन लागेको बताइएको छ । तीन सातादेखि राजधानीमा देखा परेको स्वाइन फ्लु जटिल खालको देखा परेकोले चिकित्सकहरू चिन्तित हुन थालेको बताइएको छ ।
सरकारले भने यसबारे जनहीतका लागि कुनै सार्वजनिक सूचना जारी गरेको छैन । सरुवा भाइरसबारे सूचना लुकाएर राख्दा यसले महामारीको रुप लिनसक्ने खतरा हुने गरेको छ ।