लन्डन । बुद्ध फ़ाउन्डेशन यूकेका कोषाध्यक्ष तथा गैर -आवासीय नेपाली संघ बेलायतका केन्द्रीय सदस्य राजन खकुरेलले बुद्ध फ़ाउन्डेशन यूकेको तर्फबाट सम्पूर्ण नेपालीहरुमा सहयोगको लागि हार्दिक अपिल गरेका छन् ।
सहयोगको लागि अपिल जस्ताको तस्तै :
बुद्ध फ़ाउन्डेशन यूके अनि कपिलवस्तु समाज यूकेको संयुक्त आयोजनामा धार्मिक बन समुदायबाट नि:शुल्क प्राप्त एक बिगाहा जग्गामा बाणगंगा नगरपालिका,नन्दनगर,कपिलवस्तुमा बेसाहारा वृद्ध आमाबुबाहरूको लागि निर्माण हुन लागेको “वृद्धाश्रम “बारे हजुरहरु सर्वबिदितै हुनुहुन्छ।
उक्त “बुद्ध वृद्धाश्रम” को लागि गैर आवासीय नेपाली संघ बेलायत र बुद्ध फ़ाउन्डेशन नेपालको पनि पूर्ण सहयोग रहिआएको छ ।
यसरी बिभिन्न सामाजिक संस्थाहरुको तत्ववाधनमा निर्माण हुन गइरहेको यो परोपकारी घरको लक्षित लगानी सुरूवातमा (जग्गा बाहेक ) ७० लाख राखिएता पनि नेपालमा गएको महॉभुकम्प पछिको परिबर्तित नियमले गर्दा (पहिला स्थानीय जनता बनाएको यस भवनको जगले काम नगर्दा ) हाल यस भवनको अनुमानित बजेट (जग हाल्ने काम सहित गरेर) र चारै तिर पर्खाल लगाउने समेत गरेर रु १ करोड २५ लाख हुन आएको छ । हामीलाई सबैबाट प्रतिबद्धता गर्नुभएको लगभग ५० लाख निर्माणमा सकिएर पनि स्थानीय संस्था,बुद्ध फ़ाउन्डेशन नेपालका पदाधिकारी तथा सल्लाहाकारहरूको बिश्वासमा ब्यापारीसंग उधारो सामान लिएर निर्माण कार्य निरन्तर अगाडी बढाईरहेका छौँ ।
होस्टेमा हैंशे गरेर पुरा हुन लागिरहेको यस महानकार्यमा स्नेहको भेटी चढाउने समस्त बेलायत बासी दिदी बहिनी दाजुभाइहरु प्रति कृतकृतार्थ छु। यहांहरुको सहयोगले उत्साह र उर्जा दुवै मिलेको छ।

बुढेसकालमा दुःख पाएका,एक्लिएका ,रोगिएका बुवाआमालाइ एउटा समुचित ब्यवस्था गर्ने यो महाअभियानमा जोडिनु भएका हरेक पावन मनहरु धन्यवादका पात्र हुनुहुन्छ। वहांहरुको हार्दिकता र उदार मनको लागि अभिब्यक्त गर्ने मसंग कुनै शब्दहरु छैनन्।
बृद्धाश्रम निर्माणमा थोरै भएपनि “आर्थिक सहयोग वृद्धवृद्धा प्रतिको एउटा सम्मान र साथ हुने म लगाएत सम्पूर्ण बुद्ध फाउण्डेशन यूके परिवारको ठम्याइ हो। उमेर ढल्कंदै गएपछि घर परिवार र समाजले समेत हेला गर्ने हाम्रो सामाजिक विडम्बनाबीच विदेश बस्ने सभ्य नेपालीले, बयोबृद्दको जीवनयापन सुखमय बनाउने पुन्यशील यो अभियानमा साथ दिएर ठूलो उपकार गरेको सम्झेका छौ।हामीले धर्म गर्न मन्दिर गइरहन आवश्यक छैन् । पाका बाबा आमाको मुहारमा खुशी ल्याउने काम गरे त्यो नै ठूलो धर्म हुन्छ ।
अर्थ संकलनको यो दिशामा अघि बढिरहेको बेला केही कुराको ध्यानाकर्षण गराउन चाहन्छु । हुनत चन्दा र दान स्वत;स्फूर्त रुपमा गरिने कार्य हुन। जोर जबर्जस्तिले हुने काम हुंदै हैन।तैपनि दाताहरुको लामो लिस्टमा केही महत्वपूर्ण नामहरु छुट्न गएकोमा दुख लागिरहेको छ ।खेदपूर्ण भावनाले सताइरहेको छ।
नामै किटेर भन्न त नमिल्ला तर हाम्रो यो भगीरथ प्रयासमा केही अनुहारहरु छुट्नु भएको छ।यहाँहरुको गरिमामय उपस्थितिले महाअभियानको यो कार्यमा इंटा थप्ने मात्र हैन कोसेढुंगा नै साबित हुने विश्वास गर्दछु।त्यसैले यो अपिलरुपी सन्देश अधिक भन्दा अधिक पाठकहररु संग प्रभावकारी ढंगले पुग्छ भन्ने कामना गरेको छु।
आफ्नो गच्छे ,क्षमता र भक्तिभावको परिणामस्वरुप दिइने जस्तोसुकै सहयोग राशी हाम्रो लागि अमूल्य निधि हुनेछ।हौसलाको बुलन्द आवाज बन्नेछ।हाम्रो टिम मात्र हैन सिंगो आश्रय स्थल तपाइहरु सामु नतमस्तक भएर निहुरेनछ।यसमा बासस्थान पाउने,औषधोपचार र स्याहार पाउने हरेक आमाबुवाको हृदयबाट निस्कने आनन्दको पुकारले तपाइहरुको जीवन धन्य बन्नेछ भन्ने असीम बिश्वास लिएका छौ। यस महान योजनामा आफ्नो सक्दो सहयोग गरेर उदारता र पुन्यको क्षेत्रमा आफ्नो भागीदारी जनाउनु हुन्छ भन्ने पूर्ण विश्वास लिएको छु।
हाम्रो यो निस्वार्थ,पूर्णत सेवामूलक कामलाइ आज सम्म सहयोग र सद्भाव दर्शाउने हरेक महान व्यक्तिहरु प्रति शतशत प्रणाम गर्दछु। नेपालबाट होस वा बेलायत ,वा संसारको जुनसुकै ठाउंबाट प्राप्त सहयोगको उच्च सम्मान गर्दै अझ थप संख्यामा सहयोगी मनहरु थपिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।