
तस्बिर श्रोत: बेलुन नेपाल
भैरहवा- पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह, कपिलवस्तुको तिलौराकोट, जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने गरी हट एयर बेलुन उडाउने तयारी भएको छ।
बेलुन उडानको तयारी नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन (नाट्टा) ले गरिरहेको प्रदेश ५ का प्रथम उपाध्यक्ष सन्जय बजिमयले बताए। अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा बिहीबारदेखि हट एयर बेलुन उडाउन लागिएको हो। लुम्बिनीमा उडाइने हट एयर बेलुन भैरहवा ल्याइएको छ। एकपटकको उडानमा सातजनासम्म चढ्न मिल्नेछ। बेलुन उडानका लागि बुकिङ सुरु भइसकेको छ।
उपाध्यक्ष बजिमयले भने, ‘पहिलोपटक लुम्बिनीमा हट एयर बेलुन उडाउन लागेका छौं। अहिलेसम्म बुकिङका लागि धेरै व्यक्ति सम्पर्कमा आइसक्नुभएको छ। यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थप भूमिका खेल्नेछ।’
लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु हुने हट एयर बेलुन उडानका दुई वटा प्याकेज छन्। छोटो दुरीको १० मिनेटको र लामो दुरीको ३० मिनेटको प्याकेज छन्।
एयर बेलुनको १० मिनेटको दुरीमा हुने उडानले लुम्बिनी क्षेत्रको अवलोकन गराउनेछ। यसैगरी आधा घन्टाको उडान हावाको झोक्कामा कता उड्ने भनेर दिसा निर्देश हुने बजिमयले बताए। पूर्वबाट पश्चिमतर्फ हावा लागेमा हट एयर बेलुन लुम्बिनीमाथि हुँदै पश्चिम कपिलवस्तुको तिलौराकोट र जगदीशपुर तालसम्म पुगेर फर्किनेछ। यसैगरी हावाको झोक्का पश्चिमबाट पूर्वतर्फ लागेमा लुम्बिनीमाथि हँुदै देवदह, रामग्राम सम्म पुगेर फर्किनेछ।
१० मिनेट उडानका लागि आयोजकले सेवाग्राहीसँग सेवाशुल्कबापत दुई हजार प्रतिव्यक्ति र आधा घन्टाका लागि नौ हजार प्रतिव्यक्ति लिनेगरी टिकट व्यवस्थापन गरेको छ। विदेशीको हकमा भने आधा घन्टाका लागि एक सय २० अमेरिकी डलर सेवा शुल्क लाग्नेछ। आयोजकका अनुसार छोटो दुरीको उडान दिनमा कम्तीमा १२ पटक र लामो दुरीको कम्तीमा तीन पटकसम्म गराइनेछ।
तातो हावाले उड्ने उक्त हट बेलुन चारपांग्रे गाडीभन्दा सुरक्षित हुने बताइन्छ। कुनै पनि प्रदूषण नहुने हट एयर बेलुनको लुम्बिनी, जगदीशपुर, तिलौराकोट, देवदह, रामग्रामको उडान गर्दा आकाशबाट त्यस क्षेत्रको भ्यु हेर्न उपयुक्त हुने विश्वास गरिएको छ।
हेलिकप्टरमा उडेर अवलोकन गर्दा धेरै खर्च पर्नेमा हट एयर बेलुनबाट दृश्य अवलोकन गर्न पनि पाइने, आवश्यक तस्बिर खिच्न तथा छायांकन पनि गर्न पाइने हँुदा यो प्रभावकारी हुने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट स्थानीय सचिवालय संयोजक नाट्टा प्रदेश ५ का महासचिव चन्द्रबहादुर थापाले बताए। अहिले २ वटा बेलुन पोखराबाट ल्याई सञ्चालन गरिने र पर्यटकको आकर्षण बढे निरन्तर सञ्चालनका लागि पहल गरिने थापाले बताए।
हट एयर बेलुन पोखरा क्षेत्रमा पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको क्रममा लुम्बिनी क्षेत्रमा पनि यो आकर्षणको केन्द्र बन्न सक्छ। पुस २६ गतेदेखि लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टमा संसारभरका टुर अपरेटर सहभागी हुँदैछ। आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन र व्यापारमा टेवा पुग्ने अपेक्षासहित नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पुस २६, २७ र २८ गते बेलुन उडान हुन लागेको हो।
२७ गते लुम्बिनीमा आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र २८ गते टाइगर प्यालेसमा समापन हुने गरी तयारी गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति सदस्य सचिव अच्युत शर्मा गुरागार्इंले बताए।