२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शुक्रकिट बाहिर फाल्दा पनि बच्चा बस्छ ?

6295 Shares
Spread the love

काठमाडौं । किशोर–किशोरीमाझ प्रायः अपनाइने उपायमध्ये एक हो— बाह्य स्खलन विधि । यो परम्परागत विधिको प्रयोग पछिल्लो दशकको तुलनामा बढी हुन थालेको पाइन्छ ।

वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी नहुन सक्छ ।

अब वीर्य स्खलन हुनै लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा लिंग झिक्न ढिलो भै वीर्य योनिभित्रै झर्न वा योनि क्षेत्रमा लाग्न सक्छ । यसले यो विधिको प्रभावकारिता कम गर्ने नै भयो ।

त्यसबाहेक उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिंगको टुप्पामा देखिन्छ । पुरुष ग्रन्थिको मुनितिर मूत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन् । यौन उत्तेजनाका बेलामा यही ग्रन्थिबाट निस्किएको रस केही थोपाका रूपमै वीर्य स्खलनभन्दा पहिले लिंगको टुप्पामा देखिन्छ ।

यसरी आउने तरल पदार्थमा सामान्यतस् शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समयपहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए उक्त वीर्य स्खलनका कारणले मूत्र नलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ ।

यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना भएको कुरा बुझिन्छ । यो विधिको प्रभावकारिताको सन्दर्भमा विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको देखाएको छ ।

यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी भने सर्न सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट जोगिन कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ ।

के बच्चा बस्यो होला ?

तपाईंको सन्दर्भमा गर्भ रह्यो कि रहेन भन्ने कुरा गर्नुअघि गर्भ रहने सम्भावनाका बारेमा कुरा गरौं । तपाईंलाई थाहै हुनुपर्छ, वीर्य स्खलनपछि वीर्यमा भएको शुक्रकीट महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँग मिलन हुनु आवश्यक छ ।

योनिमा वीर्य स्खलनको समय डिम्ब निष्कासनको समयसँग मिल्नुपर्छ । यौनसम्पर्क गर्दा तपाईंकी प्रेमिकाको महिनावारी चक्रको कुन बेला थियो भन्ने कुरा लेख्नुभएको भए गर्भ रहने सम्भावना आँकलन गर्न केही सहयोग हुने थियो ।

गर्भ बस्यो भने केही लक्षण देखिन्छन् । महिनावारी रोकिनु एउटा प्रमुख र महत्वपूर्ण लक्षण हो । त्यसबाहेक पनि गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन् । ती परिवर्तन पहिचान गरेर गर्भ रहे–नरहेको छुट्याउन सकिन्छ ।

छोटकरीमा भन्ने हो भने महिनावारी रोकिनुका साथै स्तन छाम्दा हल्का रूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने आदि हुन सक्छ ।

त्यसैगरी केही समयपछि गएर स्तन अझ ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुने हुनुका साथै गर्भस्थ शिशु चल्ने जस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षणमध्ये धेरैजसो लक्षण छ भने गर्भ रहेको भन्न सकिने स्थिति हुन्छ । कतिपय परिस्थितिमा लक्षण तथा चिह्नहरूका आधारमा शारीरिक जाँच गरेर मात्र गर्भ रहे–नरहेको निर्धारण गरिन्छ ।

यौनसम्पर्क भएको धेरै समय नभएकाले गर्भ रहेको भए सुरुवाती दिनमै थाहा पाउन पिसाबको परीक्षण गराउन सकिन्छ र यस्तो परीक्षणलाई प्रिग्नेन्सी टेस्ट भनिन्छ । ( डा.राजेन्द्र भद्रा, साप्ताहिकबाट)

प्रतिक्रिया