२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा रहेका विदेशी नागरिकमाथि सरकारको कडा निगरानी

834 Shares
Spread the love

काठमाडौं। सरकारले विदेशी नागरिकमाथि कडा निगरानी राख्ने भएको छ। नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने भएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक ईश्वरराज पौडेलले विदेशी नागरिहरुका अवाञ्छित गतिविधि नियन्त्रण गर्न उनीहरु बस्ने होटलमा समेत कडा निगरानी राख्न लागिएको जानकारी दिए।

विभागले अबाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ। महानिर्देशक पौडेलले ६ महिनायता नेपालमा चेलिबेटी बेचबिखन घटेको जानकारी दिए। उनले मानव तस्करी हुन नदिन नेपाल प्रहरीले छुट्टै व्यूरो स्थापना गर्न लागेको उल्लेख गर्दै त्यससँग सहकार्य गरेर विभागले मानव तस्करी नियन्त्रणको कामलाई अझ प्रभावकारी बनाउने बताए।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको पनि जनाएको छ। महानिर्देशक पौडेलले सरकारले सो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना अघि सारेकाले त्यसको स्तरोन्नतिको कामलाई विभागले तीव्रता दिएको जनाए।

प्रतिक्रिया