बलिउड कलाकार अनुपम खेरमाथि अदालतले एफआइआर दर्ता गर्न आदेश दिएको छ । ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ का मुख्य कलाकार अनुपम खेरसहित अन्य १३ कलाकारलाई मंगलबार विहारको एक अदालतले एफआइआर दर्ता गर्न आदेश दिएको हो ।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको राजनैतिक जीवनमा आधारित चलचित्र ‘द एक्सिडेन्टल प्राइममिनिस्ट’को ट्रेलर रिलिज भएदेखि नै विवादमा तानिएको थियो । चलचित्र निर्माण टिमलाई चर्चित राजनैतिक हस्तीहरुको चरित्र हत्या गरेको आरोप लाग्दै आएको छ । यो विषयमा बोल्दै अनुपम खेरले चलचित्र नहेरिकन आरोप लगाउनु दर्भाग्यपूर्ण रहेको बताए ।
अदालतले सार्वजनिक ट्रेलरलाई युटुव तथा अन्य सामाजिक सञ्जालबाट हटाउन आदेश दिएको छ । यस अघि दिल्ली हाइकोर्टमा पनि ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’को विरुद्ध मुद्दा दर्ता भएको थियो । आईपीसीको ‘धारा ४१६’ बमोजिम दिल्ली हाईकोर्टमा मुद्दा दर्ता भएको हो । जहाँ जीवित मान्छेको अनुमति बेगर नक्कल बनाउनु पाइँदैन । चलचित्रमा साेनिया गान्धी, राहुल गान्धी, प्रणव मुखर्जी, सुष्मा स्वराज लगायतका धेरै राजनैतिक पात्रहरू राखिएकाे छ ।
मनमोहन सिंहका प्रेस सल्लाहकार समेत रहेका संजय बारुको पुस्तक ‘द एक्सिडेन्ल प्राइममिनिस्टरः द मेकिङ एण्ड अनमेकिङ अफ मनमोहन सिंह’ मा आधारित चलचित्रले जनवरी ११ लाई रिलिज मिति तोकेको थियो तर चलचित्र यही मितिमा रिलिज हुने नहुनेमा भने अझै अन्योल नै छ ।
एजेन्सी