२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न डा. केसीको माग

889 Shares
Spread the love

डा. गोविन्द केसीले अवैध रूपमा विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकीलगायत मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग राखेका छन् । त्यस्ता कलेजले एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेको जनाउँदै उनले आईओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) लगायतका नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।

गैरकानुनी भर्ना प्रक्रियामा अदालतले समेत चलखेल गरेको भन्दै उनले बुधबार जारी विज्ञप्तिमा चिन्ता व्यक्त गरेका छन् । ‘जानकी मेडिकल कलेजले अवैध रूपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेकामा तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी अवैध भर्नालाई वैध बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न अदालतका फैसलाका आडमा यसअघि पनि मेडिकल कलेजहरूले अवैध रूपमा विद्यार्थी भर्ना लिएका कारण मुलुकभर ठूलो संख्यामा अयोग्य व्यक्तिले डाक्टरीको डिग्री र लाइसेन्स पाउने जोखिम रहेको केसीले जनाएका छन् । ‘यस्तो प्रवृत्तिले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र सेवाग्राहीहरूको ज्यान खतरामा पर्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया