म्यानचेस्टर युनाइटेड फुटबल क्लबले पूर्वखेलाडी ओले गुनार सोल्सारलाई यो सिजनको अन्त्यसम्मका लागि कामचलाउ म्यानेजरका रूपमा ल्याएको छ।
पूर्वम्यानेजर जुजे मोरिन्ह्योलाई बर्खास्त गरेको भोलिपल्ट सो क्लबले सोल्सारलाई नियुक्त गरेको हो।
ओल्ड ट्राफोडमा ११ वटा सिजन बिताएका सोल्सारले सन् १९९९ को च्याम्पियन्स लिगमा फाइनल खेल जिताएका थिए।
४५ वर्षीय सोल्सारले प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको युनाइटेडको नेतृत्व सम्हाल्नेछन्।
उनले भने, “म्यानचेस्टर युनाइटेड मेरो मुटुमा छ र यो भूमिकासहित क्लबमा फेरि आउनु महत्त्वपूर्ण कुरा हो।”
“हामीसँग भएका एकदमै प्रतिभाशाली खेलाडी, कर्मचारी र क्लबका सबैसँग मिलेर काम गर्न म प्रतीक्षारत छु।”
यसै महिनाको शुरूतिर नर्वेको मोल्डा क्लबसँग म्यानेजरका रूपमा सम्झौता गरेका सोल्सारलाई माइक फेलनले साथ दिनेछन्, जो सहायक म्यानेजरका रूपमा आउनेछन्।
तस्वीर कपीराइट Getty Images यसअघि फेलनले सर एलेक्स फर्गुसनसँग काम गरिसकेका छन्।
मोरिन्ह्योको नेतृत्वमा प्रशिक्षकका रूपमा काम गर्दै आएका माइकल क्यारिक र किरान म्याककेनाले सोल्सारको नेतृत्वमा पनि निरन्तरता पाउनेछन्।
सोल्सारको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले पहिलो खेल शनिवार कार्डिफसँग खेल्नेछ। सो क्लबको म्यानेजरका रूपमा चाहिँ उनी भाग्यशाली साबित हुन सकेनन्।
आठ महिने कार्यकालका बेला उनी नेतृत्वको क्लब घटुवामा परेको थियो र च्याम्पियनशीपको शुरूवातमा कमजोर प्रदर्शनका कारण उनलाई बर्खास्त गरिएको थियो।
युनाइटेडले यो सिजनको अन्त्यसम्ममा स्थायी म्यानेजर नियुक्त गर्ने बताइएको छ।
युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वूडवर्डले भने, “ओले क्लबका निम्ति एक ठूला व्यक्तित्व हुन्, जोसँग मैदानमा र प्रशिक्षकको भूमिकामा पनि निकै अनुभव छ।”
“म्यानचेस्टर युनाइटेडसँगको उनको इतिहासको अर्थ हो उनी यहाँको संस्कार बमोजिम चल्छन् र उनी तथा माइक फेलनलाई फेरि क्लबमा ल्याइएकोमा सबैजना हर्षित छन्।”
“यो सिजनको मध्यतर्फ अघि बढिरहँदा हामीलाई विश्वास छ उनीहरूले खेलाडी र प्रशंसकालाई एकढिक्का बनाउनेछन्।”