पुष ४ -उपमेयरको घरमा चोरी गर्ने समूहका तीनजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घर फोडेर चोरी गर्ने उनीहरुलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको हो । मंसिर ५ गते दिउँसै ६ जनाको समूहले घरमा कोही नभएको मौका छोपेर सुनचाँदी सहित महत्वपुर्ण कागजपत्र चोरेका थिए ।
उक्त चोरी भएको ठीक एकमहिनापछि बुधबार महानगरीय प्रहरी परिसर भक्तपुरले तीनजनालाई सार्वजनिक गरेको हो। प्रक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका ३ सरमथली स्थायी घरभई हाल काठमाडौंको अत्तरखेल मेडिकल कलेज नजिक बस्ने २९ वर्षीय विवेक भन्ने वाङदेन तामाङ, काभ्रेकै भुम्लु गाउँपालिका ३ घर भई अत्तरखेल बस्ने २२ वर्षीय विकाश भन्ने सुमन लामा र मोरङको केराबारी गाउँपालिका २ स्थायी घर भई हाल काठामाडौं चाबहिल बस्ने २३ वर्षीय सन्तोष बिक रहेका छन् ।
उपमेयर जोशीको घरबाट चोरी गरिएको एकथान सुनको सिक्का, रजनी जोशीको नामको गहना तथा सहकारीका रसिदहरुसमेत उक्त समूहबाट बरामद भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । त्यस्तै उनीहरुसँगै चोरी गरिएको सुन तथा चाँदी गालेर बिक्री वितरण गर्ने भारतको महाराष्ट्र प्रदेशको साङली थाना जिल्लाको तासगाउँ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौंको चावहिलमा बस्ने २७ वर्षीय सचिन भन्ने वैभव बापुसो भोसलेलाई पनि सार्वजनिक गरिएको छ।