२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छ : मन्त्री मगर

765 Shares
Spread the love

फाईल तस्विर


काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताएकि छन् ।

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले भनिन् “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रम भने प्रभावित हुने छैनन् ।”

देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन मन्त्रालयले ठोस कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनले जानकारी दिइन् । मन्त्री मगरले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रम अघि बढाइने बताइन्।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले पूँजीगत खर्च बढाउँदै अन्य आयोजनाका काम तीव्ररुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनील दासले खानेपानीको पहुँच नपुगेका देशैभरीका नगरपालिका, गाउँपालिका, वडा तथा टोलको पहिचान गरी तथ्याङ्क सङ्कलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिए।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु¥याउने गरी कार्यक्रम जनतामाझ लैजान आग्रह गरे।

अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे । उनले भने, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन, मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।”

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौँ उपत्यकाको सल्लाघारी, धोवीघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताए । उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले ‘वाटर एटिएम’ जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए ।

प्रतिक्रिया