मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड जनरल एसेम्वलीका सभामुखको कार्यालयले डिष्ट्रिक ८ बाट निर्वाचित हयारी भण्डारीलाई सरकार संचालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन) गभमेको सदस्यमा नियुक्त गरेको छ।
यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटा तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ।
हाउसमा ५ वटा मुख्य कमिटीहरु हुन्छन्, त्यसमध्ये यो कमिटी मुख्य मानिन्छ। यो समितिले गर्ने अन्य कामहरुमा राज्य सरकारको निकायहरुको समन्वय र सञ्चालनमा हाउसले गर्ने विभिन्न कार्यहरुको लागि कानून बनाउन उक्त कमिटीले पास गरेपछि मात्र हाउसमा प्रवेश गरि आवश्यक प्रक्रिया पूरा गरि नीति नियम बन्ने गर्दछ।
साथै उक्त समितिले प्रशासनिक कानून, खरीद, मानव संशोधन, रियल स्टेट तथा व्यक्तिगत सम्पत्ति सम्बन्धि कानून तर्जुमा गरी कार्यान्वयनमा पठाउने पनि गर्दछ।
यसै गरि स्वास्थ्य सम्बन्धि सरोकार राख्ने स्वास्थ्य सुविधा, उत्पादन र उपकरण, दीर्घकालीन स्वास्थ्य सेवा, स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरुको सेवा, त्यस सम्बन्धि अनुसन्धान गर्ने निकायहरुलाई अनुगमन, समन्वय र सहयोग गर्ने सम्वन्धि कानून समेत सोही समितिले गर्ने गर्दछ।
स्मरणीय छ, स्वास्थ्य सम्वन्धि अध्ययन र अनुसन्धानमा मेरिल्याण्डका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाहरु विश्व कै अग्रणी संस्थाको रुपमा लिईन्छ। मेरिल्याण्डमा ठूला ७० वटा विश्वप्रख्यात अस्पताल रहेका छन्।
जसमध्ये जोन हपकिन्स विश्वविद्यालय विश्वकै उत्कृष्ट अनुसन्धान केन्द्र हो। यसमा नयाँ रोगको भ्याक्सिन र औषधिको आविष्कार गरिन्छ। ३६ जना नोवेल पुरस्कार प्राप्त चिकित्सकहरुले उक्त अस्पतालमा काम गरिसकेका छन्।
भण्डारीले राज्यको महत्वपूर्ण कमिटीमा चयन भएपछि प्रतिक्रिया दिँदै आफूलाई यसले जनताको जीवनमा परिवर्तन गर्ने काम गर्न थप उत्साहित बनाएको बताएका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा हुने भएको छ। साथै फ्रेण्डस अफ हयारी भण्डारीले आगामी जनवरी ६ तारिखमा एक कार्यक्रम गर्न लागेको जनाएको छ।