पुष ४ – नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आइओसी०ले मूल्य घटाएर आइतबार सूची पठाएपछि निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैयाँ घटाएको छ ।
यसैबीच आयल निगमले एक महिनामा करिब डेढ अर्ब नाफा सुनिश्चित गरेको छ । निगमले १७ मंसिरदेखि ३ पुसका लागि निर्धारण गरेको बिक्री मूल्यमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यतिखेर पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएर पेट्रोल १ सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको थियो ।
मंगलबार रातिदेखि लागू नयाँ मूल्यअनुसार अब १७ पुससम्म खरिद–बिक्री हुन्छ । १५ दिनमा ८८ करोड २२ लाख नाफा निकाल्ने लक्ष्य निगमको छ । यसरी एक महिनामा १ अर्ब ४४ करोड ८० लाख नाफा कमाउँदै छ । करिब १० अर्बबराबरको कारोबार गर्दा यो नाफा प्राप्त हुन्छ । नयाँ पत्रिकामा खबर छ ।