२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

विमानस्थल अध्यागमन ‘सेटिङ’का फाइल पल्टाउँदै अख्तियार

1222 Shares
Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा २०७३ देखि २०७५ सम्म भएका ‘सेटिङ’का कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन्।

आयोगले विमानस्थल अध्यागमनले राख्ने तथ्यांकसहित दुई वर्ष अवधिमा अध्यामगन अधिकृत, वरिष्ठ अधिकृत, उपसचिव र कार्यालय प्रमुखबाट भएका सम्पूर्ण निर्णयहरुको सक्कल फाइल मगाएर अनुसन्धान गरिरहेको हो।

अनुसन्धानमा कैफियत देखिएका अधिकारीहरुलाई बोलाएर बयान लिने काम भइरहेको छ। याे अवधिमा अध्यागमनमा बस्नेहरूकाे अायाेगले सम्पत्ति छानवीनको तयारी समेत गरेकाे छ।

‘हामीले फाइल मगाएका थियौं, अध्ययन अनुसन्धान गरिरहेका छाैं,’ आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले नेपालखबरसँग भने ‘केही फाइलमा कैफियत भेटिएको छ। त्यस्ता फाइलमा हस्ताक्षर गर्ने अधिकारीलाई झिकाएर सोधपुछ गरिरहेका छौं।’

वैदेशिक रोजगार व्यवसायीसँगको मिलमतोमा सरकारले बन्देज लगाएका देशमा महिला पठाएको, मानवतस्करसँग सेटिङ मिलाइ कागजपत्र नहेरी भिजिट भिषामा पठाएको सहितका विषयमाथि अख्तियारले छानवीन गरिरहेको हो।

अख्तियारको प्रारम्भिक अनुसन्धानले उस्तै अवस्था र प्रकृतिका घटनामा एउटै अध्यागमन अधिकारीले फरक–फरक निर्णय दिएको भेटिएको छ। सेटिङमा आउनेहरुलाई एउटा निर्णय र सेटिङबिनाको अवस्थामा अर्को निर्णय भएको हुनसक्ने भन्दै अख्तियारले छानवीन गरिरहेको हो।

नेपालमा भिषा अवधि सकिएर गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई उडाएकोजस्ता गम्भीर आरोपमा परेका उजुरीमाथि अख्तियारले छानवीन गरिरहेको हाे। आयोगको अनुसन्धानले नेपालमा वर्षौं गैरकानुनी रुपमा बसेका विदेशीलाई बिनाकुनै जरिवाना उडाएका घटना भेटिएका छन्।

अध्यागमन विभागले नयाँ निर्देशिका बनाएर गैरकानुनी आप्रवासीको खोजी तीब्र पारेको थियो। विभागको अनुसन्धान तीब्र भएसँगै खोजी सूचीमा रहेका ब्यक्ति बिनाकुनै कागजी प्रक्रिया विमानस्थलबाट उडेको तथ्य खुलेको छ।

आयोग स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी गैरकानुनी घटना २०७३ र २०७४ मा भएका छन्। सरकारले प्रतिबन्धित भनेका खाडी देशमा ठूलो संख्यामा नेपाली महिला भिजिट भिषामा गएको अख्तियारको छानवीनले देखाएको छ। यी मध्ये अधिकांश महिला अध्यागमनको सेटिङमा वैदेशिक रोजगारमा जान बन्देज खाडी मुलुक पुगेको देखिएको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका सबै विवरण उपलब्ध गराइदिएको नेपालखबरलाई बताए। ‘दुई आर्थिक वर्षको सम्पूर्ण विवरण आयोगले विभागसँग मागेको थियो। हामीले त्यो उपलब्ध गराइदिएका छौं। अरु कुरा आयोगको क्षेत्राधिकारको कुरा हो। हामीले केही बोल्न मिल्दैन’, उनले भने।

खुसखोर अड्डाको रुपमा बद्नाम विमानस्थल अध्यागमनका फाइल अध्ययन गरिरहेको आयोगले हप्ता बिराएर अनियमिततामा जोडिएका अधिकारी झिकाउन पत्राचार गरिरहेको छ। स्रोतका अनुसार पहिलो चरणको अनुसन्धानपछि शंकास्पद देखिएका अधिकारीहरुको सम्पत्ति अनुसन्धान गर्ने तयारी आयोगले गरिरहेको छ।

भट्टराई हटे, शिवाकोटी तानिए
पैसाको भरमा नेता र उच्च प्रशासक रिझाएर लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्दै आएका ‘सेटिङ मास्टर माइन्ड’ ठाकुरप्रसाद भट्टराईको सरुवा भएको छ। ईश्वरराज पौडेल विभाग महानिर्देशक भएर गएसँगै उनको सरुवा भएको हो। सुदूर पश्चिम सरुवा भए पनि गृहका उच्च पदस्थ अधिकारीलाई रिझाएर वर्षौंदेखि विमानस्थलमै अड्डा जमाएका उनलाई महानिर्देशक पौडेलले हटाएका थिए। करिब ६ वर्ष विमानस्थल बस्दा उनले ढुंगेअड्डामा घर खडेरी जोड्न सफल भएका थिए। उनकै बाटो समातेका अध्यागमन अधिकृत रामचन्द्र शिवाकोटी विमाग तानिएका छन्। उनलाई जिम्मेबारबिहीन बनाएर विभागमा हाजिरी गराइएको छ।

‘कैफियत भेटिने कर्मचारीलाई विभागले पनि कारवाही सुरु गरेको छ। पहिला के थियो त्यो अर्कै कुरा हो’, महानिर्देशक पौडेलले नेपालखबरसँग भने, ‘कहीँ कसैले गैरकानुनी काम गर्न खोजे, अनियमितता गर्न खोजे सिधा विभागमा सूचना दिन म सर्वसाधारणलाई पनि आग्रह गर्दछु।’

सेटिङ भत्किँदा मलेसिया उड्न लागेका राेकिए
वैदेशिक रोजगारी ठप्प भएको मलेसियामा ‘हाई स्किल्ड’ कामदार भन्दै उड्ने तयारीमा रहेका २९ जना नेपाली कामदार शुक्रबार फिर्ता भएका छन्। विमानस्थल अध्यागमनले उनीहरुलाई फिर्ता गरेको हो।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन सरुवा गर्दा कर्मचारीको ट्र्याक रेकर्ड समेत हेर्न थालेको छ। यो व्यवस्थाका कारण केही स्वच्छ छवि भएका अधिकृतहरु त्यहाँ पुगेका छन्। विदेशमा पढेर आएका र पछिल्लो पटक लोकसेवा पास गरेका युवालाई अध्यगामन पठाइएको हाे। तिनै स्वच्छ छविका अध्यागमन अधिकारी कारण मलेसिया उडाउने योजना असफल भएको विमानस्थल स्रोतले बतायो। विभागले यो विषयमा आन्तरिक छानवीन गरिरहेको छ।

यसअघि मंसिर २३ मा विमानस्थल अध्यागमनले भिजिट भिषामा रसिया जान खोज्ने ६३ जना नेपालीमध्ये ४४ जना अफलोड गरेको थियो। उनीहरुका बिषयमा विमागले अनुसन्धानको जिम्मेबारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ।

प्रतिक्रिया