प्रकाश बम
डोटी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघीयता आवश्यक नरहेको बताएका छन्।
राष्ट्रिय जनमोर्चा डोटीले आज दिपायलमा गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पूर्व उप– प्रधानमन्त्री केसीले सो कुरा बताएका हुन्।नेपाल जस्तो आर्थिक रुपले कमजोर मुलुकमा संघीयता धेरै दिन टिक्न नसक्ने भन्दै यसको खारेजी लागि राष्ट्रिय जनमोर्चा देशव्यापी रुपमा बिरोधका कार्यक्रम गरिरहेको उनले बताए।
प्रदेश सरकारको औचित्य नरहेको भन्दै, अहिले बहुसंख्यक पार्टीका नेता स्वार्थमा लिप्त रहेको आरोप समेत लगाए। दुई तिहाईको सरकार हुदा पनि देशमा भ्रष्टाचार, डकैती, चोरी, हत्या हिंसाका घटनाले दिन प्रतिदिन प्रशय पाइरहेको समते केसीले बताए।
अहिले महङ्गी, कर वृद्धिले जनताको ढाड सेकिरहेको उनले बताए। सरकार क्रिसियन धर्मको प्रचारप्रसारमा लागि रहेको अध्यक्ष केसीले आरोप लगाए।
केशवनाथ योगीको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य मनोज भट्ट, सुदूरपश्चिम अध्यक्ष नन्द लाल भट्ट, जिल्ला अध्यक्ष बेणिमाधब जोशीलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।