वीरगन्ज : वैदेशिक रोजगारीमा पठाउने भन्दै लिएको रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेको आरोपमा प्रहरीले वीरगन्जबाट ४ जनालाई पक्राउ गरेको छ। बाराको कलैया-१८ घर भएका एजेन्ट २६ वर्षीय सुधिर कुमारलाई बन्धक बनाएर राखेको आरोपमा वीरगन्जबाट ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज-१२ मुर्लीका २३ वर्षीय रिकेश गुप्ता,२५ वर्षीय राजन गुप्ता,सखुवा प्रसौनी-३ का २४ वर्षीय सिकेन्द्र साह र एक जना नाबालक रहेका छन्। नाबालक पहिचान प्रहरीले खुलाएको छैन।
सुधिरलाई बन्धक बनाएर राखिएको वीरगन्ज-१२ मुर्लीस्थित एक घरबाटै चारै जनालाई मंगलबार राति ९:१५ बजे पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । बन्धकमा परेका सुधिरलाई पनि त्यही घरबाट सकुशल उद्धार गरिएको उनले जानकारी दिए।
पक्राउ परेका चारै जनाले वैदेशिक रोजगारीमा पठाउन सुधिरलाई रकम दिएका थिए । तर काम नभएपछि एजेन्ट सुधिर रकम फिर्ता नगरी फरार भएका थिए। सिमावर्ती भारतमा लुकेर बसेका धिरजलाई ठगिएका चारै जनाले बैशाख १४ गते जबरजस्ती नियन्त्रणमा लिएर वीरगन्ज ल्याएर एक होटेलमा र पछि मुर्लीको घरमा बन्धक बनाएर राखेका थिए।
प्रहरी उपरीक्षक मिश्रले भने,`भारतबाट ल्याएर सुरुमा होटलमा र पछि घरमा बन्धक बनाएर राखेका रहेछन्,’ । भारतबाट ल्याइसकेपछि प्रहरीको जिम्मा लगाउनुको सट्टा बन्धक बनाएर राखेकाले उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।
यसअघि सुधिर केही दिनदेखि सम्पर्कविहिन भएपछि उनका परिवारजनले खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको थियो। त्यही निवेदनका आधारमा खोजी गर्दै जाँदा प्रहरीले वीरगन्जको मुर्लीस्थित एक घरमा बन्धक बनाएर राखिएको अवस्थामा सुधिरलाई उद्दार गर्नुका साथै त्यसमा संलग्न चार जनालाई पक्राउ गरिएको मिश्रले बताए ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा पठाउनका लागि आफूहरूले सुधिरलाई रकम दिएको तर काम नभएपछि रकम फिर्ता नगरेकाले रिसको झोकमा उनलाई नियन्त्रणमा लिएर राखेको बयान प्रहरीसमक्ष दिएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए।