काठमाडौं नेकपाको स्थायी समिति बैठकमा नेतृत्वले विधि, प्रक्रिया मिचेर पार्टी र सरकार सञ्चालन गरेको भन्दै नेताहरूले खुलेर आलोचना गरेका छन् । नेता वामदेव गौतम त अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति झनै आक्रामक बनेका छन् ।
सोमबारको बैठकमा बोलेका नेता वामदेव गौतमसहित अधिकांश नेताले नेतृत्व र सरकारको आलोचना गरे । सरकार पार्टीको नियन्त्रणबाहिर सञ्चालन भइरहेको र पार्टी सञ्चालनमा विधि, प्रक्रिया मिचिएको उनीहरूको टिप्पणी छ ।
मुकुन्द न्यौपाने र वनमन्त्री शक्ति बस्नेत मात्रै सरकारको सामान्य प्रतिरक्षामा उभिएका थिए । पूरक राजनीतिक दस्ताबेजमार्फत आफूले राखेको विचारलाई षड्यन्त्रको उपमा दिएर ‘मजाक’ उडाइएको भन्दै बैठकको सुरुमै नेता गौतमले अध्यक्ष केपी ओलीको विरोध गरे । ओलीले चरित्रहत्या गर्ने गरी आफ्नो विचार र प्रस्तुतिलाई मजाक गरेको उनको टिप्पणी थियो ।
ओलीले सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्नुपर्ने तथा एकको अनुपस्थितिमा पनि अर्कोले बैठक सञ्चालन गर्नुपर्ने विचारसहितको दस्ताबेज गौतमले स्थायी समितिमा पेस गरेका थिए । आइतबार प्रधानमन्त्री ओलीले गौतमलाई इंगित गर्दै दुई अध्यक्षलाई लडाएर एकता टुटाउने प्रयास भइरहेको टिप्पणी गरेका थिए ।
सोमबारको बैठकमा अग्नि सापकोटा, युवराज ज्ञवाली, घनश्याम भुसाल, हरिबोल गजुरेल र गणेश शाहले वामदेव गौतमको आलोचनात्मक दस्ताबेजका कतिपय विचार समेटेर अध्यक्षद्वयको राजनीतिक दस्ताबेजलाई पूर्णता दिनु उपयुक्त हुने सुझाब राखेका छन् ।
बैठकमा बादललाई घन्टी बजाउने जिम्मा
नेकपाको स्थायी समिति बैठकको सुरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरूको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरूको समय सकिएपछि बादलले घन्टी बजाउने जिम्मा पाएका हुन् ।
‘प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समापन घन्टी बजाउनुभयो,’ स्थायी समितिका एक सदस्यले भने ।
ओलीसँग वामदेवको आक्रोश, ‘मलाई राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्’
प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? ‘दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौँ, तर संविधानले दिँदैन’ भन्दै मलाई मजाकमा उडाउने रु दुईतिहाइ छँदै छ, संविधान संशोधन गर्नूस्, दुवै प्रधानमन्त्री बन्नूस्, मेरो समर्थन छ । तपाईंहरूलाई लडाउन कोही लागेको छैन, तपाईंहरूको मायाप्रीति जुगजुगसम्म रहोेस् । तर, मेरो चरित्र हत्या किन गर्न खोज्नुहुन्छ ? बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन ।
बैठकमा कसले के भने ?
खकार र वीर्य टेस्ट गरेर गुट बनाउन थालियो: घनश्याम भुसाल
तपाईंहरूले थुक, खकार र वीर्य टेस्ट गरेर आफ्ना मान्छे बनाउन थाल्नुभयो, गुट बनाउन थाल्नुभयो । गुटबन्दीले नश्लीय रूप लिइसक्यो । तपाईंहरू आफ्ना खल्तीका मान्छेहरू राखेर कमिटी बनाउँदै हुनुहुन्छ । यो डेमोक्रेसी होइन, डेमोक्रेसीमा त इथिक्स, रुल अफ लको प्रयोग हुन्छ । तर, त्यसो नभएपछि त वैधता, तपाईंहरूको योग्यतामाथि प्रश्न उठ्छ । सकभर योग्यतामाथि प्रश्न उठाउनु नपरोस् ।
माक्र्सवाद लेनिनवादका शास्त्रीय ग्रन्थमा हाम्रा समस्याका समाधान छैनन् । हामी आफैँ सिर्जनशील भएर समस्या समाधान गर्नुपर्छ भन्ने लेखिएको छ । तपाईं (केपी ओली) सिस्टमेटिकल्ली ज्ञानका विरुद्ध, बौद्धिकताका विरुद्ध लाग्नुभएको छ । पहिला बुद्धले कहाँ पढेका थिए भन्ने, अहिले आएर बुद्धिजीवीलाई थला टेकाउँछु भन्दै हिँड्ने । यो शास्त्र (माक्र्सवाद, लेनिनवाद) विना तपाईं कहाँबाट, कसरी सिर्जनात्मक हुनुहुन्छ ? आफैँ सिर्जनात्मक हुने भनेको के? यसरी माक्र्सवादलाई, शास्त्रलाई, सिद्धान्तलाई, बौद्धिकतालाई किनारा लगाउन खोज्दै हुनुहुन्छ । के तपाईंले माक्र्सवादलाई पनि किनारा लगाउन खोज्नुभएको हो ?
भुसाललाई ओलीको जवाफ
म ज्ञान, परम्परा, सभ्यता, संस्कृतिविरोधी होइन । बुद्धका वेला कहाँ क्लास (औपचारिक शिक्षा) थियो भनेको हुँ । सबै बुद्धिजीवीलाई होइन, केही केही गणतन्त्रविरोधी बुद्धिजीवीहरूलाई मात्र मैले इंगित गरेको हुँ ।
वामदेवको पनि विचार समेटौँ : गणेश शाह
बैठकमा एउटामा उपलब्धि र अर्कोमा कमजोरी भएको दुईखाले दस्ताबेज पेस भएको छ । वामदेव कमरेडको पनि मिलाएर साझा दस्ताबेज बनाऊँ । पार्टी एकता गरे पनि कार्यकर्तामा एकताको सन्देश पु(याउन सकिएको छैन । कम्युनिस्ट पार्टीको संठनात्मक सिद्धान्तअनुसार छिटो एकीकरण सकेर पार्टीपंक्तिलाई परिचालन गरौँ । सार्वजनिक स्थानमा हिँड्दा डुल्दा शक्तिशाली सरकारले मजदुर, श्रमजीवी जनताको हितमा जनपक्षीय काम गर्न नसकेकोमा आलोचना बढिरहेको छ । त्यसैले सरकारले पहिला ठूला सपना पूरा गर्नेभन्दा पनि जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ ध्यान देओस् ।
उत्तरतिरको पाइलाबाट कर्मचारी किन आतंकित ?: अग्नि सापकोटा
कुख्यात संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमले राष्ट्रको छवि धूमिल बनाएको छ । एउटा महिलाले प्रधानमन्त्री, वरिष्ठ नेतालाई कसरी सजिलै प्रभाव पार्न सक्दी रहिछिन् भन्ने विश्वभर गलत सन्देश फैलिएको छ । त्यो गल्ती स्वीकार्नुपर्छ र जनतासँग माफी माग्नुपर्छ ।
सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान, राष्ट्रिय गौरवका ठूला आयोजना, लगानी बोर्ड प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने कुरा बेठीक छ । प्रधानमन्त्री आफैँ बोर्डको अध्यक्ष भएपछि किन मातहत राख्नुप¥यो रु प्रधानमन्त्रीले कसरी यी सबै काम गर्न भ्याउनुहुन्छ ?
बैठक समयमै सम्पन्न नगरेर जनवादी केन्द्रीयतालाई आत्मसात् गरिएन । समयमै एकीकरण नहुँदा पार्टीलाई ठूलो नोक्सानी भएको छ । थप नोक्सानी हुन नदिन छिटोभन्दा छिटो एकीकरण गर्नुपर्छ । वामदेव कमरेडका सकारात्मक विचारलाई पनि समेटेर जाँदा प्रतिवेदन पूर्ण हुन्छ ।
चीनले तातोपानी नाका खुलाउने तयारी गरिसक्यो, नेपालका तर्फबाट अहिलेसम्म किन तयारी भइरहेको छैन ? तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको चीन भ्रमणमा अरनिको राजमार्ग विस्तारका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियो । तर, त्यो फाइल अर्थ मन्त्रालयमा किन गायब पारियो रु उत्तरतिर पाइला अघि बढाउँदा हाम्रा कर्मचारी किन आतंकित हुनुपर्ने रु बुझ्न सकिएन ।
पार्टी कसरी सरकारप्रति उत्तरदायी बन्छ ?: बेदुराम भुसाल
सचिवालय आफैँले आफैँलाई अनुकूल हुनेगरी विधान बनाउने, अनि समयमै बैठक नबोलाएर त्यो पनि कार्यान्वयन नगर्ने रु प्रदेश कमिटीजस्तो कार्यकारी कमिटीमा मापदण्डबाहिर गएर किन सदस्य मनोनीत गरियो रु
सरकारले बनाउने नीति र निर्णयमा पार्टीलाई संलग्न नगराउने अनि पार्टीलाई उत्तरदायी बनाउन खोज्ने विरोधाभासपूर्ण स्थिति किन बनाइयो रु नीति र निर्णयमा संलग्न नभएपछि पार्टीले कसरी दायित्व वहन गर्न सक्छ ?
नेतृत्वले सामन्ती संस्कार त्यागोस् : अष्टलक्ष्मी शाक्य
स्थायी समितिलाई राजनीतिक निर्णय गर्ने, घनीभूत छलफल गर्ने थलो बनाइनुपर्छ । स्थायी समिति बैठकमा ढिलाइ हुँदा पार्टीको संगठनात्मक संरचना कमजोर भएको छ । एकीकरणको ढिलाइले देशभरका कार्यकर्ता निराश भएका छन् । पार्टीभित्र छलफल र निर्णयका आधारमा सरकारले काम गर्नुपर्छ । नेतृत्वले सामन्ती संस्कार त्यागेर फराकिलो सोचका साथ सबैका आलोचना, सुझाब सुन्नुपर्छ ।
एक व्यक्ति एक पद कडाइका साथ लागू गरियोस् : युवराज ज्ञवाली
कम्तीमा दुई महिनामा एकपटक बैठक बस्ने गरी स्थायी समितिलाई राजनीतिक निर्णयको थलो बनाउनुपर्छ । वरिष्ठताका आधारमा चयन गर्ने मापदण्ड बनाएर केन्द्रीय सदस्यहरूको कार्यविभाजनअघि पोलिटब्युरो गठन हुनुपर्छ ।
केन्द्रमा दुई अध्यक्ष भए पनि त्यसभन्दा तल सबैको हकमा एक व्यक्ति स् एक पदको नीतिलाई कडाइका साथ लागू गर्नुपर्छ । जिल्ला कमिटी एकीकरण गर्दा दुई कमिटीबीचको एकीकरण मोडलअनुसार पदाधिकारीमध्ये वरिष्ठलाई अध्यक्ष र सचिव चयन गर्ने मापदण्ड बनाउनुपर्छ ।
मन्त्री हटाइन्छ भनेपछि कसरी काम गर्ने ?: शक्ति बस्नेत
बैठकमा धेरै प्रश्न उठेकाले पार्टी र सरकारबीचको सम्बन्ध त्यति सौहार्दपूर्ण छ भन्ने देखिएन । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने निष्कर्षमा पुग्न जरुरी छ । जिम्मेवार व्यक्तिहरूले नै काम नगर्ने मन्त्रीहरू हटाइन्छ भन्दै बोलेपछि कसरी मन्त्रीहरूले काम गर्न सक्छन् ? काम नगरेकै हो भने बाहिर प्रचार गरेर मन्त्री हटाउने हो कि पहिला प्रचारै नगरी हटाउने ? यसरी प्रचार गरिएपछि मन्त्रीहरूलाई सचिव र कर्मचारीहरूले कसरी टेर्छन् रु कसरी काम गर्न सकिन्छ ?
प्रधानमन्त्री र अध्यक्षको कमजोरीको फेहरिस्त बन्छ: हरिबोल गजुरेल
नयाँ संविधानपछि बनेको नयाँ सरकार र नयाँ पार्टीले निरन्तरतामा क्रमभंग नगरी जनताका अपेक्षा र चाहनाअनुसार काम पूरा गर्न सम्भव छैन । नेतृत्वले यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डका कमीकमजोरीहरू खोतल्दै जाने हो भने लामो फेहरिस्त तयार हुन सक्छ । मुख्य कुरा राजनीतिलाई सही दिशातिर नेतृत्वले लान सक्यो कि सकेन भन्ने हो ।
गुट कायम राख्ने, परिचालन गरिराख्ने अनि निर्णयमा ढिलाइ किन भयो पनि भनिरहने कुरा युक्तिसंगत हुँदैन । अहिले माथिदेखि तलसम्म एकातिर पूर्वसमूहभित्रका गुटहरू चलिरहेका छन् भने अर्कोतिर नयाँ गुटहरू बनाउने कोसिस पनि चलिरहेको देखिन्छ । गुटको खेती फस्टाउँदै जाँदा के हुन्छ ? इतिहासबाट शिक्षा लिने हो भने स्वार्थ समूहहरू निर्माण गरेर आन्दोलनको हित कतै भएको देखिँदैन ।
अध्यक्षद्वय ओली र दाहालमाथि चर्को आक्रोश
नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरूले दिएका छन् ।
पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरूले नेतृत्वप्रति आक्रोशै आक्रोश पोखेका हुन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन आफ्ना
गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको उनीहरूको आरोप छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बैठक सुरु गर्दै सदस्यलाई समय दिएपछि सोमबार सुरुमै नेता वामदेव गौतम बोलेका थिए । ओलीले आइतबार पार्टी कार्यालयमा दिएको अभिव्यक्तिबाट झनै आक्रोशित गौतमले संविधान संशोधन गरेर ‘दुइटै प्रधानमन्त्री बन्ने’ प्रावधान राख्न चुनौती दिए ।
पार्टीमा उठाएका विषयलाई ‘मजाक गर्ने रु’ भन्दै आक्रामक बने । ‘मलाई व्यंग्य गर्दै संविधानमा भएदेखि दुइटा प्रधानमन्त्री हुन्थ्यौं भन्ने रु मजाक गर्ने रु मजाकमा उत्तर दिने रु’ गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंसँग दुई तिहाइ छ, संविधान संशोधन गरेर राख्नुस् न दुइटै प्रधानमन्त्रीको प्रावधान ।’
गौतमले शनिबारको बैठकमा एक व्यक्ति एक पदको अवाधारणा लागू गर्नुपर्ने भन्दै ओलीले लिइरहेको अध्यक्षको अधिकार दाहालमा हस्तान्तरण गर्नुपर्ने खालको प्रस्ताव पेस गरेका थिए । ओलीको कार्यशैलीको विरोध गर्दै १६ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गौतमको यो शैलीले रुष्ट बनेका ओलीले आइतबारपार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षहरूबीच फाटो ल्याउने षड्यन्त्र भएको उल्लेख गर्दै ‘संविधानले मिल्ने भए दुइटा प्रधानमन्त्री हुन्थ्यौं, विरोधीलाई देखाइदिन्थ्यौं’ भनेका थिए ।
गौतमले योजनाबद्ध ढंगले आफ्नो चरित्रहत्या गर्न थालेको आरोप ओलीमाथि लगाए । ‘मैले तपाईंलाई नै सहयोग गरेको हो तर मेराबारेमा सिस्टमेटिकल्ली चरित्रहत्या भयो,’ गौतमले बैठकमा भने, ‘त्यसैले मैले समर्थन गरिरहन सकिनँ ।’ बर्दियामा चुनाव हारेको र पछिल्लो समयमा अर्को कुनै स्थानबाट उठेर प्रतिनिधिसभामा जाने आफ्नो प्रयासबारे पनि उनले धारणा राखे ।
बर्दियामा अन्तरघात गर्नेहरूलाई स्थानीय पार्टी कमिटीमा जिम्मेवारी दिनुले योजनाबद्ध रूपमा हराइएको पुष्टि भइरहेको उनको भनाइ थियो । उपचुनाव गराएर प्रतिनिधिसभामा जाने विषय ओलीकै समर्थनमा उठेको र पार्टीकै निर्णयअनुसार आफू अघि बढेको तर काठमाडौं ७ को कुरा आएपछि आफ्नो चरित्रहत्या गरिएको उनले उल्लेख गरे ।
‘म चुनावमा उठ्ने कुरा पार्टीकै सहमतिमा आएको होइन रु पछि रामवीरको कुरा आएपछि उल्टै मलाई चरित्रहत्या गर्न खोजियो, भारतले उचालेको भनियो,’ गौतमले भने, ‘अति भएपछि मैले पनि जवाफ दिनुपर्छ भनेर म बोलेको हुँ ।’
सुरुमै गौतमले चर्को असन्तुष्टि व्यक्त गरेपछि त्यसपछि बोल्ने नेताहरू पनि नेतृत्वप्रति खनिए । घनश्याम भुसालले ओली सिद्धान्तबाट विचलित र विशुद्ध गुटबन्दीको शैलीमा अघि बढेको भन्दै सक्ने भए आफूलाई कारबाही गरेर देखाउन चुनौती दिए । ‘थुक, रगत, खकार, वीर्य टेस्ट गरेरमेरो गुटको हो कि होइन भनेर पार्टीभित्र छुट्याउनुहुन्छ, यसैगरी गुटबन्दी गरिराख्ने हो रु’ उनले भने, ‘तपार्इं कसैको गुटको मात्र नेता हो भने म तपाईंलाई मान्दिनँ, म खड्ग ओलीबाट शासित हुन्न, निन्दा गर्छु । सक्नुहुन्छ भने मलाई कारबाही गर्नुहोस् ।’
प्रदेश कमिटी, स्थानीय तहलगायत कमिटी बनाउँदा तीव्र गुटबन्दी गरेको उनको आरोप थियो । ओली र दाहालको प्रतिवेदनको पनि विरोध गरे । ‘सिद्धान्तलाई मान्नुहुन्न, बौद्धिकहरूलाई थला पार्छु भन्नुहुन्छ, बुद्धले कति पढेका थिए र भन्दै हिँड्नुहुन्छ,’ भुसालले भने, ‘तपार्इंमाथि योग्यताको प्रश्न उठ्छ ।’
दुवै नेताको प्रतिवेदन आत्मप्रशंसाले मात्र भरिएको कुनै सैद्धान्तिक राजनीतिक आधार नभएको उनको टिप्पणी थियो । अहिलेको समस्या, चुनौती र तिनको सामना गर्ने विधि समेटेर प्रतिवेदन आउनुपर्नेमा त्यसलाई छुँदै नछोएको उनलेउल्लेख गरे ।
नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टी संगठन भत्कँदै र कमजोर बन्दै गएको उल्लेख गर्दै यसमा नेतृत्व प्रमुख जिम्मेवार रहेको आरोप लगाए । एकता प्रक्रियामा दोहोरो तेहेरो मापदण्ड अपनाइएकोमा आपत्ति जनाए । सचिवालयका नाममा भइरहेका निर्णय गलत रहेको बताए ।
तत्कालीन एमालेमा ओली अध्यक्ष बन्दा त्यही समूहमा रहेका नेता मुकुन्द न्यौपानले समेत ओलीकै विरोध गरे । उनले यस्तो तरिकाले पार्टी र सरकार चल्न नसक्ने उल्लेख गरे । पार्टीभित्र नातावाद र गुटबन्दी हावी भएको न्यौपानेको आरोप थियो ।
विभिन्न कथाहरूको उदाहरण दिँदै उनले सरकार र अध्यक्षहरूको कायैशैलीमाथि प्रश्न गरे । अध्यक्षले ल्याएको प्रतिवेदन यता न उताको जस्तो भन्दै आपत्ति जनाए । अर्थमन्त्रीप्रति व्यंग्य गर्दै उनका कारण पनि सरकार बदनाम भइरहेको आरोप लगाए ।
‘बुद्धिजीवी दुई प्रकारका हुन्छन्, एउटा अग्र्यानिक र अर्को रासायनिक । अग्र्यानिक जनताबाट आएको हुन्छ, रासायनिक सिधै माथिबाट आएको हुन्छ,’ उनले भने, ‘अहिलेका अर्थमन्त्री रासायनिक बुद्धिजीवी हुन्, रासायनिक मलले माटो बिगारेजस्तै सरकारलाई बिगारिरहेका छन् ।’
माओवादी धारका अग्नि सापकोटा, हरिबोल गजुरेल, गणेश साह र मन्त्रीसमेत रहेका शक्ति बस्नेतले बोलेका पनि थिए । उनीहरूले पनि सरकार र पार्टी कामप्रति असन्तुष्टि जनाए । ‘पार्टीको संगठन र सरकारको तरिका जस्तो र जता जाँदै छ त्यो ठीक भएन,’ सापकोटाले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, ती पूरा भएनन् ।’ गजुरेलले एकता प्रक्रिया ढिलो भइरहेको र यसमा गुटबन्दी हावी भएको आरोप लगाए । वनमन्त्री बस्नेतले सरकार र पार्टीबीचको सम्बन्ध टुटेको बताए । गणेश साहले सरकार जनपक्षीय र समाजवादी नभएको टिप्पणी गरे ।
१० जना नेताले बोलेपछि अध्यक्ष ओलीले बैठक समापन गर्ने क्रममा बौद्धिक जमातमाथि यसअघि आफूले गरेको टिप्पणीको स्पष्टीकरण दिए । ‘म ज्ञान, परम्परा र बुद्धिजीवीविरोधी होइन,’ उनले भने, ‘केही गणतन्त्रविरोधी बुद्धिजीवीको कुरा गरेको हो, तिनका विरुद्ध भनेको हो ।’ यति भनेर उनले बैठक समापन गरे, अन्य कुरा बोलेनन् । मंगलबार पनि बैठकमा बाँकी सदस्यले बोलेपछि अध्यक्षले जवाफ दिनेछन् ।