काठमाडौं, / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको पहिलो दिनको बैठक बस्नु अगाडि दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोही चार शीर्ष नेताहरूसँग गोप्य वार्ता गरेको खुलासा भएको छ ।
ललितपुरको भैँसेपाटीस्थित नेकपाका प्रभावशाली नेता वामदेव गौतमको निवासमा प्रचण्डले चार शीर्ष नेताहरूसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ ।
भैँसेपाटीको गोप्य बैठकमा प्रचण्डले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका थिए ।
भैँसेपाटीको गोप्य बैठकमा विद्रोही चार भाई र प्रचण्डबीच के–के कुरा भएको थियो केही जानकारी दिइएको छैन । प्रचण्डले मंसिर २९ गतेको पहिलो दिनको स्थायी समिति बैठकमा विद्रोही चार भाईलाई फकाएर सहभागी गराएको स्रोतको दाबी छ ।
स्रोतको भनाइअनुसार भैँसेपाटीको त्यो गोप्य बैठकपछि नै वामदेव गौतमले स्थायी समितिको बैठकमा ‘एक व्यक्ति एक पद’सहितको प्रस्ताव राखेका थिए ।
वामदेव गौतमको प्रस्तावमा प्रचण्ड नबोले पनि त्यसले उनलाई फाइदा पुगेको चर्चा धुम्बाराहीतिर हुने गरेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले वामदेवद्वारा स्थायी समितिमा पेस गरिएको अलग प्रस्तावलाई रुचाएका छैनन । वामदेवको प्रस्तावले ओलीसँगको दुरी झन बढाएको चर्चा छ ।