काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो। हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरे । एकल प्रयासमा बल अघि बढाउँदै उनले शेर्पाका लागि विजयी गोल गरे।
जितसँगै हिमालयन शेर्पा तालिकाको छैटौ स्थानमा उक्लिएको छ। उसले ९ खेलबाट १४ अंक जोडेको छ। पुलिससंग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडि परेको हो। एनआरटीले नवौ चरणको खेल सम्म एक जित पनि निकाल्न सकेको छैन। एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ।
यस्तै साेमबार भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। काठमाडौंको हलचोक मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ गोल अन्तरले हराएको हो। जितसँगै संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गरेको छ। संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ। जितसंगै संकटाले उपाधि होडमा आफुलाई कायम राखेको छ। संकटाको जितले शीर्ष स्थानको मनाङ र तेस्रो स्थानको थ्री स्टार माथि दबाब बढेको छ। हारसंगै फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ।
यस्तै एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा भने सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन्। एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन्। खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौँ स्थानमा छ भने सरस्वती १० अंक सहित नवौँ स्थानमा छ।