पुष २ -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाह नाच्दा गणतन्त्र हल्लिएको बताएका छन् । कैलालीको धनगढीमा प्रदेश नं. ७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई आइतबार प्रशिक्षण दिने क्रममा नेता थापाले यस्तो बताएका हुन् । उनले पूर्वराजा नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो भनी प्रश्न गरेका छन्।
यसअघि ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित ‘द त्रिसरा रेष्टुरेन्ट’मा ज्वाई राजिब शाहीको जन्मदिन समारोहमा नाचेका तस्बिरहरु सार्वजनिक भएका थिए । तीनै प्रसंगलाई कोट्याउँदै प्रचण्डले होटलमा गएर ज्ञानेन्द्र किन नाचेको भन्दै प्रश्न गरेका थिए । यता थापाले भने प्रचण्डको उक्त अभिव्यक्तिलाई इंगित गर्दे ज्ञानेन्द्र नाच्दा गणतन्त्र नै हल्लिएको बताएका हुन् ।
उनले कसैको व्यक्तिगत नीजि जीवनमाथी टिप्पणी गर्नु एउटा वरिष्ठ नेतालाई नसुहाउँने कुरा भएको भन्दै प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको बताए । उनले भने “पूर्वराजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो ।
“गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छ” । उनले कार्यक्रममा दलहरुले देशमा राम्रो काम गर्न नसकेको कारण राजसंस्था र हिन्दु राष्ट्रलाई लिएर जनतामा आकर्षण बढेको दाबीसमेत उनले गरे ।