२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

थाइल्याण्डमा ‘श्रीमान गम्भीर’ धुन बजाउँदा आयोजकले माग्यो माफी

1367 Shares
Spread the love

पुष २ -थाइल्याण्डमा आयोजित वल्र्ड बडी बिल्डिङ च्याम्पिसनसीपमा नेपालले स्वर्णपदक जित्दा पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आयोजक वर्ल्ड फिजिक फेडरेसन (डब्लुपीएफ) ले माफी मागेको छ। डब्लुपीएफका महासचिव डाटुक पाउल चुआले नेपाल बडी बिल्डिङ एसोसिएसनलाई इमेल लेख्दै गल्ती भएको स्वीकारेका हुन् ।

एसोसिएसनका महासचिव दिनेश राजभण्डारीले डब्लुपीएफको इमेल एसोसिएसनका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्वोधन गरेर आएको बताए । ‘हामीले यसलाई नै आधिकारिक क्षमायाचना मानेका छौं, तर खेलकुद परिषदले यसलाई स्वीकार्छ या स्वीकार्दैन थाहा भएन,’ राजभण्डारीले भने ।

‘आयोजकको गम्भीर हेलचेक्र्याइँका कारण ठूलो त्रुटी हुन पुगेको थियो, तर माफी मागिसकेपछि यो विषयलाई धेरै चर्काइरहन आवश्यक ठानेका छैनौं । भविष्यमा गल्ती नदोहोर्‍याउने उनीहरुले बताएका छन्,’ राजभण्डारीले भने । अध्यक्ष श्रेष्ठलाई पठाएको इमेलमा डब्लुपीएफका कर्मचारीले राष्ट्रिय धुन डाउनलोड गर्दा गल्ती हुन पुगेको उल्लेख छ ।

‘हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि काममा खटिएका व्यक्तिले असावधानीपूर्वक डाउनलोड गरेका थिए । हामी गम्भीर क्षमायाचना गर्छौं,’ पत्रमा लेखिएको छ । उता नेपाल खेलकुद परिषदले पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आज आयोजकलाई पत्र लेखेर स्पष्टीकरण सोध्ने भएको छ । परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले आरपीएफले यस विषयमा सार्वजनिक विज्ञप्ति जारी गरेर क्षमायाचना गर्नुपर्ने बताए ।

‘मौखिक कुराकानीमा उनीहरुले गुगलमा सर्च गरेर राष्ट्रिय धुन डाउनलोड गर्दा गल्ति भएको बताएका छन् । एसोसिएसनलाई पत्राचार गरेर क्षमा मागिएको पनि सुनिएको छ । तर, त्यतिले हुँदैन । उनीहरुले आधिकारिक विज्ञप्ति नै जारी गर्नुपर्छ,’ तिम्सिनाले भने । थाइल्यान्डमा पुरानो राष्ट्रिय धुन बजेको विषयलाई लिएर सामाजिक सञ्जालमा भने रोचक किस्साहरु देखिरहेको छ ।

सामाजिक सञ्जालमा ‘श्रीमान गम्भीर’ बजेकोमा धेरै नेपालीहरु खुसी भएको आशय व्यक्त गरेका छन् भने धेरैले यसमा आपत्ति पनि जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा पुरानो राष्ट्रिय गान बजाइनु आपत्तिजनक विषय भएको चर्चा भईरहँदा कतिपयले भने नेपालले इतिहास रच्दाको खुसीमा जुन राष्ट्रिय धुन बजेपनि खासै फरक नपर्ने प्रतिक्रिया दिईरहेका छन् ।

प्रतिक्रिया