मंसिर २९ – फाल्गुनन्द गाउँपालिका ३ का देवेन्द्र शिवाले जात तथा धर्म समेत फरक पर्ने गरी किर्ते गरी नागरिकता बनाएको घटनाको छानविनमा तीन सरकारी कर्मचारी तानिएका छन्। तीन वटा नागरिकता बनाएका शिवाले अन्तिम पटक २०७२ सालमा नागरिकता बनाउँदा संलग्न सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरामा परेका हुन।

स्रोतका अनुसार नागरिकता बनाउनका लागि सिफारिस गर्ने दुई जना सचिव, नागरिकतामा हस्ताक्षर गर्ने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीमाथि छानविन बढाइएको छ। यी मध्ये एक जना सचिवले अवकाश पाइसकेका छन्।
अनुसन्धान टुंगोमा नपुगेको भन्दै प्रहरीले नाम गोप्य राखेको छ। एक जना महिलालाई बलात्कार गर्ने प्रयास गरेपछि देवेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानको क्रममा उनको साथमा तीनवटा नागरिकता फेला परेको थियो। स्रोतका अनुसार जिल्ला अदालतबाट आदेश लिएर प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। सात दिनसम्म गोप्य राख्ने कानुनी व्यवस्था रहेको भन्दै गोप्य राखिएको छ।
अन्तिम मितिमा बनाइएको नागरिकता सिफारिस, मुजुल्कादेखि जिल्ला प्रशासनमा सनाखतसम्म आइपुग्दा राम्रै सेटिङ भएको हुन सक्ने आशंका गरिएको थियो। घटनाक्रम हेर्दा गाविस सचिवले असोज २९ गते सिफारिस गरेपनि कात्तिक २९ गत सनाखत भएको खुल्न आएको थियो। तर नागरिकता भने फाल्गुन १८ गतेमात्र जारी भएको देखिन्छ।
तीनैवटा नागरिकता फरक फरक मितिमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट लिइएको देखिन्छ। देवेन्द्र शिवा, अंकित शिवा र गौरब लिम्बुको नाममा नागरिकता लिएको खुल्न आएको छ।
नागरिकता बनाउने घटनाक्रम हेर्दा लामो ‘सेटिङ’ भएको आशंका गरिएको छ। उनले २०६३, २०७० र २०७२ सालमा नागरिकता लिएको खुल्न आएको छ। सोहि आधारमा राहादानी समेत बनाएको भेटिएको छ। नागरिकमा खबर छ ।