लन्डन । ब्रिटिश प्रधानमन्त्री टेरेसाले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र उनको नेतृत्वलाइ चुनौती दिंदै ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन् । उनलाई उनकै पार्टी कन्जरभेटिभका १५ प्रतिशत संसदहरुले चुनौती दिएका हुन् ।
उनलाई कुल मतसंख्याको ६३ प्रतिशत मत प्राप्त भएको थियो र अब एक वर्षसम्म उनलाई कसैले नेतृत्वको चुनौती दिन पाउँदैन।
गोप्य मतदानमा उनको पक्षमा २०० मत र विपक्षमा ११७ मत परेको थियो।
अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन्।
अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ। एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ टेरेसा मे, ब्रिटिश प्रधानमन्त्री ।
उनले बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन इयूबाट अलग हुने बेला आएकोले अहिले पार्टी नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन् ।