२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गोइतका नेता हतियार बुझाउँदै फर्कीए राजनीतिको मूल धारमा

615 Shares
Spread the love

सप्तरी । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अधिकांश नेताले आज राजविराजमा हतियार बुझाउँदै राजनीतिको मूल धारमा आउने निर्णय गरेका छन् ।

क्रान्तिकारीका अविनाश भनिने उपेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यले वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाउँदै राजनीतिको मूलधारमा आएको सार्वजनिक गरेका हुन्।

वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे, सदस्य सुरेश आलेमगर र ताराकान्त चौधरीलाई अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएका छन् ।

अविनाशसहितले राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित सुरक्षा सम्बद्ध निकायका प्रमुख, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सञ्चारकर्मी र अधिकारकर्मीको उपस्थितिमा हतियार बुझाए । गोइत नेतृत्वको १५ सदस्यीय केन्द्रीय कमिटीका ११ जनाले २०७५ जेठ ५ गते राजनीतिक वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गर्दै गत असोज ६ गते लहानमा ६ बुँदे सहमति गरेका थिए ।

अविनाशसहित प्रदीप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो सफिर, सञ्जय भनिने देवेन्द्र खड्गा, सञ्जयकुमार यादव, शङ्कर भनिने सञ्जयकुमार यादव र फूलबाबु भनिने फूलकुमार यादव सार्वजनिक भएका हुन् ।

वार्ता, संवाद र सहमतिबाटै आफ्ना माग पूरा हुने र नेपाली जनताको चाहनाअनुरुपको संविधान संशोधन भई तराई क्षेत्रकोसमेत विकास निर्माण हुनेमा अविनाशले विश्वास व्यक्त गरे। हतियार बुझ्दै संयोजक पाण्डेले कारागारमा थुनामा रहेका बन्दीको रिहाइबाहेकका अन्य माग सहजै पूरा हुने खालका रहेका र बन्दीका सवालमा कानूनी प्रक्रिया विचार गर्दै राज्यले विशेष निर्णय गर्नुपर्ने अवस्था रहेको बताए ।

टोलीका संयोजक पाण्डेले २५ वटा समूहका गतिविधि शून्य रहेका र संविधान निर्माणपछि कतिपय नेता, कार्यकर्ता राजनीतिक मूलधारमा आई नयाँ राजनीतिक जीवन शुरु गरेकाले बाँकी २१ वटा समूहसँग वार्ता भई शान्ति प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

प्रतिक्रिया