नयाँ दिल्ली। पूर्व क्रिकेटर तथा पंजाब राज्यका क्याबिनेट मन्त्री नवजोत सिंह सिद्धू बोल्न नसक्ने भएका छन् । पाँच राज्यमा विधानसभा चुनावका लागि प्रचार गर्दै हिँडिरहेका सिद्धू सदाका लागि आवाज गुमाउन सक्ने खतरनाक अवस्थामा पुगेका छन् । उनले कांग्रेस उम्मेदवारका लागि १७ दिनमा ७० र्याली गरेका थिए । सबै र्यालीमा उनले निरन्तर भाषण गरेका थिए ।
डाक्टरका अनुसार लगातार भाषण गरेका कारण उनको भोकल कर्डमा क्षति पुगेको छ । डाक्टरका अनुसार सिद्धूलाई लिरिंगजाइटिस (भोकल कर्डमा अत्याधिक क्षति पुग्नु) भएको छ । उनको अवस्था गम्भीर भएको बताइएको छ । उनी आफ्ना आवाज सदाका लागि गुमाउने अवस्थाको संघारमै थिए । उनलाई ५ दिनसम्म पूर्ण आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार चुनाव प्रचारको क्रममा हेलिकप्टर र हवाइजहाजमा निरन्तर यात्रा गरेका कारण पनि सिद्धुको स्वास्थ्यमा खराब असर परेको हो । डाक्टरका अनुसार शरीर उत्साहले भरिएको हुने, दिमागले पनि लगातार उच्च स्वरमा बोल्नको लागि प्रेरित गर्ने तर घाँटीले साथ दिएन भने लिरिंगजाइटिस हुन्छ । शरीर र दिमाग थाकेन तर घाँटी थाक्यो भने यो रोग हुन्छ । सिद्धू बोल्न नसक्ने भएपछि डिसेम्बरमा सुरु हुने भनिएको द कपिल शर्मा शो पनि प्रभावित हुने खतरा देखिएको छ । सिद्धू कपिलको शोमा स्थायी पाहुना हुन् ।