२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

सहज छैन सगरमाथा चढ्ने बाटो बनाउन

1582 Shares

काठमाडौं । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ।

बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।

यस पटक क्याम्प टुसम्मको बाटो बनाउन खटिएका १० जना अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले १० दिन पहिले नै क्याम्प टुसम्मको बाटो तयार पारिसकेका छन्। एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार बाटो बनाउने तयारी सुरु भएपछि आधार शिविरमा बौद्ध परम्पराअनुसार पूजापाठ, क्षमापूजा गर्ने, शक्ति माग्ने र लामापूजा गरेपछि हिमालमा कुल्चने गरिन्छ।

उनले भने, “आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो निकै अप्ठ्यारो छ। ल्होत्से र नुप्त्से हिमाल आरोहणको बाटो पनि त्यही भएकाले समय–समयमा बिग्रिरहन्छ। यो बाटो बनाउन प्रायः एक महिना लाग्ने गरेको छ।”

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट क्याम्प टुसम्म पटक–पटक आवातजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले आरोहण सिजन सकिने दिन (मे २९)सम्मै बाटो बनाउने टोली तयारी अवस्थामा रहने गरेका छन्। उनका अनुसार आइसफल डाक्टरले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायतका काम गरेर आरोहीका लागि बाटो तयार पार्ने गर्छन्।

यस पटक आधार शिविरदेखि क्याम्प टुसम्मका विभिन्न स्थानमा १५ वटा भ¥याङ प्रयोग गरिएको छ। उक्त मार्गमा सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा प्रयोग भएको थियो। हिमनदी, हिउँ खाल्डा तथा चिरा धेरै रहेको क्याम्प टुसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले भ¥याङ कति राख्ने भन्ने सुरुमा यकिन नै हुँदैन।

क्याम्प टुसम्म बाटो बनाएपछि आइसफल डाक्टरको टोली आधार शिविर फर्किने र आरोहण सकिएपछि टाँगिएका डोरी, भ¥याङलगायतका सामान निकालेर मात्रै करिब तीन महिनापछि फर्किन्छन्। आरोहणमा प्रयोग हुने डोरीको मोटाइ नौ मिलिमिटर र भ¥याङ बाँध्न प्रयोग हुने डोरी सात मिलिमिटरसम्मको हुन्छ।

जुन विदेशबाट आयात हुँदै आएको छ। उनले आइसफल डाक्टरले पनि आफ्नो सुरक्षाको त्यत्तिकै ध्यान दिनुपर्ने भएकोले हेल्मेट, चस्मा, पन्जा, हावा नछिर्ने खालका कपडा र बुट अनिवार्य लगाउनुपर्ने बताए ।

प्रतिक्रिया