२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आठ दलीय सत्ता गठबन्धनको बैठक बस्दै, पार लाग्ला मन्त्रालय भागवण्डाको रस्साकस्सी ?

1842 Shares
Spread the love

काठमाडौं। सरकार विस्तार र मन्त्रालय भागवण्डाबारे छलफल गर्न आठ दल सम्मेलित सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बठैक बस्न लागेको हो ।

अपराह्न चार बजे बस्ने आजको बैठकमा मन्त्रालयमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेताहरु सहभागी हुँदैछन् ।

सरकार गठन भएको २ महिना नपुग्दै गठबन्धन हेरफेर भएपछि पछिल्लो समय सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागवण्डाको रस्साकस्सी सुरु भएको छ । दलिय भागवण्डाको किचलोलाई पार लगाउने तयारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पूर्णताका लागि छलफलमा जुटेका हुन् ।

१८ फागुनमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताको विषयमा छलफल हुने बताएका थिए । २५ फागुनको राष्ट्रपति चुनावअघि नयाँ मन्त्रीहरू थप नगर्ने सत्ता गठबन्धका दलहरूबीच अनौपचारिक सहमति भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कुर्ने भए पनि चुनावअघि नै दलगत भागवण्डा भने टुंगो लगाउने तयारी पनि भइरहेको छ ।

बजेटको तयारी गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड पनि मन्त्रिपरिषद् विस्तारका लागि दबाबमा रहेको बताइएको छ । अहिले कांग्रेसले नौवटा मन्त्रालयमा दाबी गरेको छ । उपप्रधानमन्त्रीसहित नौवटा मन्त्रालय दाबी गरेको कांग्रेसले चारवटा मुख्यमन्त्री दाबी गरेको स्रोतको भनाइ छ ।

अघिल्लोपटक एमालेले आठवटा मन्त्रालय लिएकोमा कांग्रेसले नौवटा पाउनुपर्ने तर्क गरेको हो । एमालेले १० जना सांसदबराबर एउटा मन्त्रालय पाउने गरी भागवण्डा भएको थियो । त्यसैअनुसार भागवण्डा हुँदा ७९ सांसद रहेको एमालेले आठवटा मन्त्रालय लिएको र ८९ सांसद रहेको कांग्रेसले नौवटा मन्त्रालय पाउनुपर्ने तर्क उठेको हो ।

त्यसैगरी, एमालेले लिएका मन्त्रालयहरूमै कांग्रेसले दाबी गरेको छ । त्यसो हुँदा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, र स्वाथ्य मात्र होइन, कांग्रेसले भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयमा पनि नजर लगाएको स्रोतको भनाइ छ । यता, जसपाले चारवटा मन्त्रालय दाबी गरेको छ । तर, उसलाई उपराष्ट्रपति दिएका कारण दुईवटा मन्त्रालयमा सहमत गराउने प्रयास पनि भइरहेको बताइन्छ ।

अघिल्लो संसदमा १७ सांसद भएको जसपाले दुईवटा मन्त्रालय पाएको र अहिले १२ सांसद भएकाले त्यही दुईवटा मन्त्रालय पाउने पनि बताइएको छ । जसपाले पनि शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयमै नजर लगाएको छ । चुनावअघि पनि जसपाले तिनै मन्त्रालय लिएको थियो ।

एकीकृत समाजवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ । उसलाई पनि दुईवटा मन्त्रालय दिन भने कांग्रेस र माअ‍ोवादी केन्द्र सहमत देखिएको स्रोतको भनाइ छ । तर, कम्तीमा पनि दुई मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्ने एसको अडान छ ।

स्रोतका अनुसार लोसपाले भने एउटा मन्त्रालय पाउनेछ र त्यसका लागि शरतसिंह भण्डारीले दौडधुप बढाएका छन् । उनी पहिलादेखि नै मन्त्रीका लागि दौडमा रहेका सांसद हुन् ।

प्रतिक्रिया