संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ।
स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।
कम्तीमा अन्य १० जना घाइते छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार उक्त मदिरालयमा केही दर्जन गोली चलेका थिए।
उक्त काउन्टीको शेरिफ कार्यालयका प्रवक्ता एरिक बुशोले भने, “डेप्युटीहरू घटनास्थलमा पुग्दा तिनीहरूले गोली चलेको आवाज सुनेका थिए, त्यतिञ्जेलसम्म बन्दूकधारी सकृय नै रहेको हुनुपर्छ।”
गोलीकाण्डमा मारिएका प्रहरीको नाम रन हेलुस भएको बताइएको छ। भेन्चुरा शेरिफ कार्यालयका सार्जेन्ट र २९ वर्षसम्म सेवामा रहेका ती प्रहरीले सेवाबाट अर्को वर्ष अवकाश पाउन लागेका थिए।

उनीमाथि थुप्रै पटक गोली प्रहार भएको र पछि स्थानीय अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।
ती संदीग्ध बन्दूकधारीहरुले दर्जनौं गोली चलाएका र प्रहरीका अनुसार ती व्यक्तिले पछि आफ्नै ज्यान लिएको हुनु पर्छ।
कलेजका विद्यार्थीहरूमाझ लोकप्रिय सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए।
मानिसहरूले मेचहरूको प्रयोग गरेर झ्यालका सिसा फुटाई त्यहाँबाट भागेका र केही शौचालयमा लुकेका थिए।
सांगितिक कार्यक्रम भैरहंदा उक्त बारमा कम्तिमा दुईसयजना मानिसहरू रहेका बताइएको छ।