२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

तिहारले छोएन खोप्री गाउँलाई

1212 Shares
Spread the love

जुम्ला। नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन। यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन्। निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन। उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ।

अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताए। “हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौं”, उनले भने, “न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन्।”

उनको गुनासो थियो “प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ। बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन्। ”

अर्का स्थानीयवासी कालीबहादुर थापाले भने, “हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ। सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौँ न सरकारलाई वास्ता छ।”राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उनको आरोप थियो।

सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ। दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको बताए।

सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको छु। यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिन्छ भने।(रासस)

प्रतिक्रिया