कार्तिक २२ युरोपियन क्लब फुटबल प्रतियोगितामा म्यान्चेस्टर युनाइटेडले युभेन्टसलाई पराजित गरेको छ । गएराति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा युभेन्टसलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । खेलमा सुरुवातमा राम्रो प्रर्दशन गरेको युभेन्टसले खेललाई आफनो अनुकुल बनाउँन सकेनन् ।
पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लबविरुद्ध उत्कृष्ट गोल गरेका थिए । तर खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।
युनाइटेडका लागि जुहान माटाले ८६ औं मिनेटमा शानदार फ्रि किकमा बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो ।पाउल पोग्वाले प्रहार गरेको फ्रि किक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो ।

जितपछि समूह एचमा रहेको युनाइटेडको ७ अंक भएको छ भने शीर्ष स्थानमा रहेको युभेन्टसको ९ अंक छ । गएराति नै स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–१ गोलले हराएको भ्यालेन्सियाको ५ अंक छ ।