डोटी – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापर्वाही गरेको भन्दै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले समाजिक सञ्जाल फेसबुक मार्फत पीडा पोख्न थाल्नुभएकाे छ ।
आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बिष्टले सत्य इमान्दारिताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएकाे छ । ‘सत्य–इमान्दारिता र असल दायित्वको पक्षमा वकालत गर्दा गर्दै जागिरको त अन्त्य भयो तर निष्ठा र स्वभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ तर कहिल्यै मर्दैन’, सामाजिक सञ्जाल फेसबुकमा बिष्टले लेख्नुभएको छ ।
उहाँले असल दायित्वको पक्षमा वकालत गर्दा–गर्दै जागिरको अन्त्य भएको तर निष्ठा र स्वाभिमानको अन्त्य नभएको उल्लेख गर्नुभएको छ । खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरा समेत उहाँको फेसबुक स्ट्याटसमा लेख्नुभएको छ । बिष्टले दिनमा झण्डै एक/एक घण्टाको अवधिमा ६ वटा स्टाटससम्म लेख्ने गर्नुभएकाे छ ।
गएको कात्तिक ८ गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै विष्ट र निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको छ । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा कात्तिक ८ गते बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको थियो ।